
काठमाडौं, १ असोज । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा अत्यधिक बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपाल (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ ।
मूल्य बढाउने सम्बन्धी आइस्पानको उक्त निर्णय बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष पेस गरिएको अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । “जसरी पनि निजी इन्टरनेट सेवा प्रदायकलाई दुःख दिने विद्युत् प्राधिकरणको नीतिका कारण बाध्य भएपछि मूल्य बढाउने निर्णय गरेका हौँ,” उनले भने ।
आइस्पानको बुधबारको बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक प्रत्येक प्याकेजमा मासिक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक १५० रुपियाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो । गोरखापत्रमा खबर छ ।
