
झापा, ३१ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासंघले पहल गरिरहेको बताएका छन् ।
मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासंघले सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको जानकारी दिए।
कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेको उनले बताए।
उनले महासंघले महिला उद्योगीको उत्थान र समग्र व्यवसायीको बृहत्तर हितका लागि निरन्तर काम गरिरहेको पनि जानकारी दिए।
कार्यक्रममा महासंघका प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकाल, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेजकुमार रिजाललगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गरेका थिए ।संघमा १ हजार ७०२ सदस्य आबद्ध छन् । रासस
