
बागलुङ, ३० भदौ । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका स्थानीयहरुले २० लाख रुपैयाँ चन्दा संकलन गरेर मन्दिर निर्माण गरेका छन् । स्थानीयहरुले चन्दा तथा श्रमदान जुटाएर रु. २० लाखमा बालभैरव मन्दिर निर्माण गरेको हुन् ।
धेरै पुरानो र जीर्ण मन्दिर भएकाले १५ लाख रुपैयाँ चन्दा संकलन गरेको र पाँच लाख रुपैयाँ बराबरको स्थानीयवासीले श्रमदान गरेर मन्दिरको पुनःनिर्मण गरे उपभोक्ता समितिका अध्यक्ष रविन खत्रीले बताउनुभयो । मन्दिरमा ३ सय ९ केजीको तामा प्रयोग गरि छाना तामाले छाइएको अध्यक्ष खत्रीले बताउनुभयो । उक्त मन्दिरको मंगलबार वडाअध्यक्ष गणेश थापाले उद्घाटन गर्नुभएको थियो ।
मन्दिरमा हरेक साताको मंगलबार मात्र पूजा हुने स्थानीय नर बहादुर खत्रीले बताउनुभयो । ८० बर्षिय खत्रीले भर्खर जन्मेका बालबालिकाको बोली नफुटेमा, हातखुट्टा लुलो भएमा तथा अन्य समस्या पर्दा बालभैरवको भाकल गरेर पुजा गरेमा निको हुने किंवदन्ती रहेको बताउनुभयो । मन्दिरमा पुजाआजको लागि तित्याङका छिमेकी गाउँ सहित गल्कोट, बलेवा लगायतका स्थानदेखि कयौं मानिस आउने गरेको खत्रीले बताउनुभयो ।
उद्घाटनपछि बोल्दै वडाध्यक्ष गणेश थापाले मन्दिर निर्माण धार्मिक विषय भए पनि गाउँलेहरु जुट्दा लाखौँ रकम सङ्कलन गर्न र विकास गर्न सकिनेरहेछ भनेर यो उदाहरण बनेको बताउनुभयो ।

