बागलुङ बसपार्क कालोपत्रेः जग्गाधनीलाई यसै बर्ष घडेरी फिर्ता

बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा निर्माण गरिएको बागलुङ बसपार्क । –तस्विरः नविन शिशिर वि.क./खबरवे

बागलुङ, २८ भदौ । बागलुङ नगरपालिकाको गौरवको योजनामा समावेश आधुनिक बसपार्क निर्माण कार्य सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका–४ उपल्लचौरमा बसपार्कको सम्पूर्ण भौतिक संरचना निर्माणको कार्र्य सकिएको हो । बसपार्क कालोपत्रे गरिएको छ । नवनिर्मित बसपार्कलाई नियमित संचालनको लागि टेन्टरमार्फत सार्वजनिक प्रस्ताव आह्वाना गर्ने तयारी भैरहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

नगरपालिकाको नाममा रहेको जग्गामा बसपार्क निर्माण गरिएको हो । नगरपालिका स्वयमले बसपार्कको व्यवस्थापन नगर्ने उहाँले बताउनुभयो । बसपार्क निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गाधनीलाई आवश्यक पूर्वाधार तयार गरी यसैबर्ष घडेरी फिर्ता गर्ने नगर प्रमुख पौडेलले बताउनुभयो ।

बसपार्क निर्माणको लागि स्थानीय ५२ जनाले ५९ रोपनी जग्गा उपलब्ध गराएका थिए । त्यस मध्ये १८ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ । बाँकी जग्गा प्लटिङ्ग गरेर फिर्ता गर्ने सहमति भएको थियो । घडेरी निर्माणको लागि गत आर्थिक वर्षमा ४० लाख रुपियाँ खर्च गरिएको थियो । प्लटिङ्गको लागि चालु आर्थिक वर्षमा ७० लाख रुपियाँ विनियोजन गरिएको छ ।

बसपार्क निर्माण गरी बाँकी रहेको जग्गामा बिजुली, पानी, सडक, ढललगायतका पूर्वाधार बनाएर कित्ताकाट गरी जग्गादातालाई फिर्ता गर्नेगरी १२ बुँदे सहमति जग्गा व्यवस्थापन समिति र नगरपालिकाबीच भएको थियो ।

निर्माण कम्पनी आशिष सेवा जेभीले वि.स २०७६ साल कात्र्तिक २७ गते बसपार्क निर्माणको काम सक्ने गरी जिम्मेवारी लिएको थियो । सो अवधिमा कार्य सम्पन्न भए पनि पहिलो पटक वि.स २०७७ बैशाख २५, दोस्रो पटक विस २०७७ कात्र्तिक मसान्त र तेस्रो पटक विस २०७८ बैशाख २५ गते समय थप गरिएको थियो ।

बागलुङ नगरपालिकाले नगर विकास कोषसँगको समन्वयनमा आठ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । नगर विकास कोषसँगको ९० प्रतिशत ऋण लगानी नेपाल सरकारको साढे सात प्रतिशत र नगरपालिकाले साढे दुई प्रतिशत आर्थिक दायित्वको व्यवस्थापन गरेको छ ।

निर्माण कम्पनीले २०७६ सालको मंसिरमा काम सक्ने गरीे जिम्मेवारी पाएको थियो । बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायतको संरचना तयार गरिएको छ । बसपार्कमा कम्तीमा ७० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here