
प्रेम बहादुर के.सी.
बागलुङ, २७ साउन । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका कार्यक्षेत्र रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले व्याजटर घटाएको छ ।
सहकारीका संचालक, लेखा समिति र विभिन्न उपसमितिहरुको मंगलबार बसेको संयुक्त बैठकले कर्जा लगानी र बचतको व्याजदर घटाएको हो । सहकारीले कर्जा लगानी तर्फ ११ प्रतिशत र बचत तर्फ २ वर्षेमा १० प्रतिशत, १ बर्षे मुद्धतीमा ८ प्रतिशत र मासिकमा ६ प्रतिशत व्याजदर कायम गरेको संस्थाका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै सहिकारीले टोल–टोलमा पुगेर सेवा दिने भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा मासिक र बागलुङ बजारबाट दैनिक कारोबार गर्दै आएको सहकारीले शेयर सदस्यहरुलाई शुलभ तरिकाबाट सेवा दिने उद्देश्यले टोल–टोलमा पुगेर कारोबार गर्ने निर्णय गरेको हो । बैठकले आफ्नो सेवालाई थप गर्दै मुख्य कार्यालय काठेखोला–२ भीमापोखराबाट दैनिक कारोबार गर्ने र टोल–टोलमा मासिक रुपमा कारोबार गर्ने निर्णय गरेको अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीले संस्थाले भदौ महिनाबाट बागलुङ नगरपालिका–७ तितौरे, काठेखोला गाउँपालिका–२ को सिम, सलाम र दपासा र वडा नम्बर ३ धम्जामा सेवा विस्तार गर्ने निर्णय गरेको बताउनुभयो ।
यस्तै सहकारीले काठेखोला–२ भीमापोखरामा कृषि संकलन केन्द्र स्थापना गर्ने भएको छ । शेयर सदस्यहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको खरिद विक्रीको लागि कृषि संकलन केन्द्रको स्थापना गर्न लागिएको संस्थाका सचिव सुर्य बहादुर थापाले जानकारी दिनुभयो । उहाँले शेयर सदस्य लगायत अन्य कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुहरुलाई खरिद गरि बजारीकरण गरिने बताउनुभयो ।
‘आफ्ना शेयर सदस्यहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बजारीकरण गर्ने उद्देश्यले कृषि संकलन केन्द्रको स्थापना गर्ने निर्णय गरिएको हो’ सचिव थापाले भन्नुभयो–‘शेयर सदस्यहरुले उत्पादन गरेका बस्तुहरु खरिद गरि हामीले बजारीकरण गछौं । यसले गर्दा शेयर सदस्यहरुलाई आत्मनिर्भर बन्न सहयोग गर्छ ।’
संस्थाले आफ्नो मुख्य उद्देश्य अनुसार जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गरिरहेको छ ।
