
मनाङ, २६ साउन । लामो समयदेखि सडक सञ्जालबाट विच्छेद भएको मनाङलाई पुनः जोड्न डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते आएको बाढीपहिरोले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ ।
क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन स्थानीय तह, प्रदेश र संघ सरकारसँग पहल गर्दै मनाङका जनप्रतिनिधिले मर्मतको काम गरिरहेका छन् । सम्बन्धित निकायबीच समन्वय गरी मनाङलाई सडक सञ्जालसँग जोड्न लागिपरेको प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङले बताए । उनका अनुसार जनप्रतिनिधि विपद्मा परेका स्थानीयवासीको उद्धारसँगै सडक सञ्जालसँग जोड्न लागिपरिरहेका छन् । ‘मैले सडक नै प्रमुख आवश्यकता मानेको छु, स्थानीय तहदेखि केन्द्रसम्म गरेको प्रयासले सार्थकता पाउँदै आएको छ, केही ठाउँमा सडक पुनः सञ्चालन गर्न सकिएको छ,’ सांसद गुरुङले भने ।
जिल्लाकै ‘लाइफलाइन’का रूपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा मनाङवासीको दिनचर्या कष्टकर बनेको छ । बाढीपहिरोका कारण घरवारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न समेत कठिनाइ छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम चामेको पक्की पुल थुनिँदा बाढीको कटानले सामुदायिक तथा व्यक्तिगत संरचनामा क्षति पुगेको थियो । हाल नदीको धार पहिलाकै अवस्थामा फर्काइएपछि दुई गाउँपालिकाबीच आवतजावत भएको छ । ‘बाढीपहिराका कारण जनतासँगै म पनि त्रिपालमुनि बसेर सहयोग गरिरहेको छु, दुःखसुखमा स्थानीय सरकार अभिभावकका रूपमा रहेको आभास गराउने प्रयासमा लागिपरेको छु,’ अध्यक्ष घलेले भने ।
यस्तै मनाङका अधिकांश जनप्रतिनिधिले नै डेढ महीनादेखि त्रिपालमुनि बसेर सहयोग र साथ दिँदै आएका छन् । बाढीपहिराले चारओटै गाउँपालिका जोड्ने सडकमा क्षति पुगेपछि जनजीवनमा कठिनाइ भइरहेको छ । बाढीले माथिल्लो मनाङको वडा नं १ पिसाङदेखि चामे गाउँपालिकाको पाँचओटै वडा र नासों गाउँपालिकाका सबै वडा पूर्णरूपमा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
उनका अनुसार मनसुनको प्रभाव निरन्तर परिरहेकाले समयमा काम गर्न कठिनाइ भएको छ । हाल मौसम अनुकूल भएसँगै सडक प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उनले बताए । कम क्षति पुगेको ठाउँका सडक स्थानीय तहको सहकार्यमा प्राविधिक टोलीले मर्मतको काम गरिरहेको सडक डिभिजन लमजुङका इन्जिनीयर सुमन अधिकारीले जानकारी दिए । ‘सडक स्तरोन्नतिको काम गरिरहेको अवस्थामा बाढीपहिराले क्षति पु¥याएको थियो, बाढीपहिराको जोखिम कम हुनेबित्तिकै कामलाई निरन्तरता दिएका छौं,’ अधिकारीले भने ।
सडक सञ्जाललाई पूर्णरूपमा सञ्चालनका लागि नेपाली सेनाका इन्जिनीयर इन्दिवर गुरुङको प्राविधिक टोली र सडक डिभिजन कार्यालयका प्राविधिकले अनुगमन तथा निरीक्षणपश्चात् प्रतिवेदन सम्बन्धित निकायलाई बुझाइसकेका छन् । जिल्लाभित्रका केही ठाउँमा सवारी आवागमन पुनः सञ्चालन भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङदेखि खाङ्सारसम्म, चामे गाउँपालिकाको तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिकाको सिमानासम्म र लमजुङको सदरमुकाम बँेसीशहरदेखि मनाङ जिल्लाको सिमानासम्म हाल यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालय लमजुङले बताएको छ ।
यस सडकखण्डको १०७ किलोमिटरमध्ये लमजुङतर्फको ३५ किलोमिटर अस्थायी रूपमा सञ्चालन भएको छ भने मनाङतर्फको ६० किलोमिटर सडक मर्मत गर्न बाँकी छ । रासस
