बरेङ गाउँपालिकाको बजेट ३७ करोड ३४ लाख (पूर्णपाठ सहित)

बागलुङ, ५ असार । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले शनिबार ७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुनले उक्त बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले यस वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनाका कार्यक्रमहरुलाई प्राथमिता दिएको छ । उपाध्यक्ष पुनले विश्वभर महामारीको रुपमा फैलिएको कारोना संक्रमणको पहिचान, रोकथाम, उपचार र नियन्त्रणको लागि कोरोना/प्रकोप व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ र स्वास्थ्य प्रणाली सुधारमा ६५ लाख रुपैयाँ विनियोजित गरेको जानकारी दिइन ।

यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने गरि ७५ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । यस्तै गाउँपालिकाले पर्यटन विकासको लागि ३५ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । गाउँपालिकाले नयाँ बजार र बरेङ बजारमा कृषि उपज संकलन केन्द्र निर्माण गर्नको लागि १० लाख रुपैयाँ विनियोजित गरेको छभने ‘जहाँ खेती, त्यहाँ सिचाई’को नारा सहित विद्यामान सिचाई प्रणालीलाई पुनस्थापना तथा सुदृढीकरण गर्दै, सिचाईको पहुँच नपुगेका स्थानहरुमा साना सिचाइ निर्माण गर्ने बजेटमा समावेश गरिएको उपाध्यक्ष पुनले बताइन ।

यस्तै गाउँपालिकाले शिक्षाको विकासको लागि १ करोड ९८ लाख २० हजार रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिकाले गतवर्षदेखि संचालनमा ल्याएको ‘गाउँपालिका छात्रवृत्ति’, ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ र ‘गाउँपालिका शिक्षक’ कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । गाउँपालिकाको बजेटमा सडक र पूर्वाधारका बहुबर्षे आयोजनालाई निरन्तरता दिईएको छ ।

गाउँपालिका केन्द्र बरेङ बजारको व्यवस्थापन र वाईफाई व्यवस्थापनको लागि बजेट बिनियोजन भएको छ । बजेटमा गाउँपालिका कार्यरत सबै कर्मचारीको तलबमान बढाइएको छ । गाउँपालिका अन्तरगतका कर्मचारी सबैको तलब मासिक दुई हजारले बृद्धि गरिएको हो । विद्यालयमा कार्यरत कर्मचारी तथा बालशिक्षकका लागि भने मासिक १५ हजार, सामुदायिक सिकाइ केन्द्रका परिचालिकाका लागि ८ हजार २ सय र लेखापालका लागि मासिक १६ हजार पु¥याईएको छ ।

यस्तै शनिबार नै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताए । शर्माले नीति तथा कार्यक्रममा ‘रोगलाई पालेर होइन, फालेर जीवन जिउने’ बातावरण सिर्जना गर्ने नारा अगाडी सारेको बताए । यस्तै गाउँपालिकाले स्वास्थ्य चौकी, स्वास्थ्य इकाईहरुमा औषधी र उपकरणको अभाव हुन नदिने नीति लिएको अध्यक्ष शर्माले बताए ।

महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि सहुलियत व्याजदरमा व्यवसाय गर्न ऋण उपलव्ध गराउने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको सञ्चार खर्चमा निरन्तरता र सबै स्वास्थ्य स्वयंसेविकाको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका ‘एक घर–एक महिला’ रोजगार कार्यक्रम, ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’, ‘गर्भवती र सुत्केरीसँग गाउँपालिका उपाध्यक्ष कार्यक्रम’ लगायतका कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

‘स्मार्ट गाउँपालिका’ निर्माणका लागि वडा कार्यालय तथा सबै विद्यालयमा आधुनिक प्रबिधिको प्रयोगद्वारा कार्यसम्पादन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

बरेङ गा पा बजेट

बरेङ गा पा नीति तथा कार्यक्रम

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here