
बागलुङ, ११ जेठ । बागलुङको ताराखोला गाउँपालिकामा टर्कीबाट ल्याएर रोपेको ओखरको विरुवा चार महिनामै फल दिएको छ । रोपेको पहिलो बर्षमै फल लागे पछि कृषकहरु उत्साहित भएका छन् ।
गाउँपालिकाले टर्कीबाट ल्याएको च्यान्टर जातको ओखर रोपेको चार महिनामै फल्न थालेको हो । गत फागुनमा कृषकहरुले ताराखोला गाउँपालिकाको करिव एक हजार रोपनी क्षेत्रफलमा तीन हजार तीन सय कलमी विरुवा रोपेका थिए ।
रोपेको चार महिना मै सिमित विरुवामा फल लागे पछि व्यवसायिक सफलता मिल्ने भन्दै कृषकहरु उत्साहित छन् । ‘विरुवा रोपको पहिलो बर्षमै फल लागेको छ’ स्थानीय कृषक कर्णबहादुर भण्डारीले भन्नभयोे–‘मैले लगाएको ५० विरुवा मध्ये २५ वटाले फल दिएका छ ।’ पहिलो बर्ष फलेको फल फाल्नु पर्ने सुझाव अनुसार सबै क्षेत्रमा फलेको ओखरलाई प्रयोग नगरेको उहाँले बताउनुभयो ।
कमली विरुवाले तीन बर्ष पछि व्यवसायिक उत्पादान दिने ताराखोला गाउँपालिका कृषक शाखा प्रमुख कर्णखर भट्टराईको भनाई छ । गाउँपालिकाले गत माघमा चार हजार नेपाली थिङसेल र तीन हजार तीन सय च्यान्टर जातको ओखर विरुवा पचास प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको थियो ।
कलमी विरुवाले तीन र विज विरुवाले पाँच बर्ष पछि व्यवसायिक उत्पादन दिनेछ । ओखर खेतीको लागि ताराखोलाका बातावरण उपयुक्त भएको प्रमाणीत भएको कृषक शाखा प्रमुख भट्टराईले बताउनुभयो ।
संघीय सरकारले चालु आर्थिक वर्षमा ओखर विरुवा रोपण कार्यक्रमको लागि ससर्त अनुदानतर्फ सात लाख र गाउँपालिकाको सात लाख गरी कुल १४ लाख रुपियाँ लागतमा विरुवा खरिद गरिएको थियो ।
कलमी विरुवाको ५५० र विज विरुवाको ७५ रुपियाँ खरिद मुल्य रहेको थियो । ओखर उत्पादनलाई व्यवसायिक बनाउन आगमी आर्थिक वर्षमा पनि गाउँपालिकाले बजेट व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।
