
बागलुङ, १९ फागुन । आन्तरिक राजश्व कार्यालय बागलुङमा चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनामा ८० करोड बढी राजश्व संकलन गरेको छ ।
कार्यालयले बुधबार पत्रकारहरुलाई करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्दै चालु आर्थिक वर्षको सात महिनामा १८१ दशमलव ५ प्रतिशत राजश्व संकलन भएको बताएको छ । कार्यालयका प्रमुख जनकराज शर्माले माघ मसान्तसम्म ४४ करोड २८ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा ८० करोड ३७ लाख ८ हजार रुपैयाँ संकलन भएको जानकारी दिनुभयो ।
‘हामीले अहिले बक्यौता रकम नतिरेकाहरुलाई ताकेता गरिरहेका छौं,’ प्रमुख शर्माले भन्नुभयो–‘ठूलो बक्यौता रहेकाहरुबाट माघ महिनामा १० करोड रकम संकलन भयो । त्यस कारण लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएका हौं ।’
कर अधिकृत इश्वर जोशीले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा करको बारेमा प्रस्तुती दिँदै कार्यालयले आयकर तर्फ ४८ करोड २३ लाख ५७ हजार रुपैयाँ, बहाल कर तर्फ १० करोड ७१ लाख ९ हजार रुपैयाँ, व्याजकर तर्फ ७१ करोड ९४ लाख ४ हजार रुपैयाँ राजश्व संकलन भएको बताउनुभयो । यस्तै मुल्य अभिवृद्धि कर तर्फ २२ करोड ७ लाख ३९ हजार रुपैयाँ, अन्तशुल्क तर्फ १६ करोड ८५ लाख ८ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर तर्फ १० लाख ८७ हजार रुपैयाँ राजश्व संकलन भएको प्रमुख शर्माले बताउनुभयो ।
कार्यालयले करको दायरामा नआएका करदातालाई दायरामा ल्याउन बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीमा कर शिक्षा, कर जागरण कार्यक्रम गरेसँगै करको दायरा बढेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शर्माले कार्यालयका प्रमुख जनकराज शर्माले स्थायी लेखा नम्बर (प्यान) नलिएका र लिएर पनि ३ आय वर्षको आय विवरण र सोमा लाग्ने कर नबुझाएकाहरुलाई फागुन मसान्तभित्रमा बुझाएमा शुल्क तथा व्याज मिन्हा हुने बताउनुभयो । शर्माले मुल्य अभिवृद्धि कर सहित धेरै कामहरु अनलाईनबाटै हुने र राजश्व समेत बैंकबाट बुझाउन सकिने भएकोले कार्यालयमा आइरहनुपर्ने अवस्था नरहेको बताउनुभयो । कार्यालयमा प्यान लिन मात्र कार्यालयमा आउनुपर्ने अवस्था रहेको बताउनुभयो ।
कार्यालय प्रमुख शर्माले कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा काम गर्न गाह्रो भएको समेत बताउनुभयो । उहाँले व्यवसायीक प्यान र मुअकर प्रमाणपत्र लिएकाहरुले उपभोक्ताहरुले देख्ने स्थानमा प्रमाणपत्र राख्नुपर्ने बताउनुभयो । ‘करमा दर्ता भएको प्रमाणपत्र आम उपभोक्ताहरुले देख्नेगरी राख्नुपर्छ,’ प्रमुख शर्माले भन्नुभयो–‘कर कार्यालयबाट चेक गर्न जाँदा प्रमाणपत्र नदेखाएको र बिलको प्रयोग नगरेको पाइएमा कारवाही हुन्छ ।’ व्यवसायीहरु र उपभोक्ताहरुले खरिद विक्री गर्दा बिलको अनिवार्य प्रयोग गर्नुपर्छ प्रमुख शर्माले भन्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन कर अधिकृत इश्वर जोशीले गर्नुभएको थियो ।

