पत्रकार महासंघ बागलुङको भवन उद्धघाटन

बागलुङ, १ पुस । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नवनिर्मित भवनको मंगलबार उद्धघाटन गरिएको छ । महासंघको १२ औं बार्षिक साधारणसभाको अवसरमा गण्डकी प्रदेशका मृख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भवनको उद्घाटन गर्नुभएको थियो ।

हामी सवैको रहर, नेपाल पत्रकार महासंघको घर’ भन्ने नारा सहित २०७३ माघ ९ गते शिलान्यास गरिएको भवनको निर्माण सम्पन्न पछि मंगलबार उद्घाटन गरिएको हो ।

स्थापनाको १८ वर्षपछि २०७५ असारदेखि नेपाल पत्रकार महासंघ बागलुङ शाखा आफ्नै घरमा आइपुगेको सचिव राम थापाले जानकारी दिए । सचिव थापाले २०७३ फागुन ३ गतेको अधिवेशनबाट पारित विशेष प्रस्ताव अनुसार शाखाको भवन निर्माण अभियानलाई प्रमुख कार्यभारका रुपमा अघि बढाइ तीन वर्षभित्र भवन निर्माणको लक्ष्य लिइएपछि करिव एक वर्षको अवधिमा भवनको दुई तला निर्माण पुरा गरि २०७५ असार २५ गते स्थापना दिवसको अवसर पारेर नयाँ भवनमा गृह प्रवेश गरि महासंघको दैनिक कार्य सञ्चालन आफ्नै भवनबाट गर्दैआएको बताए । उनले गत वर्ष सभाकक्ष सहित एक तला थप गरि भवनले पूर्णता दिएपछि मंगलबार उद्घाटन गरिएको जानकारी दिए ।

महासंघलाई तत्कालिन बाल कल्याण समितिले ५० वर्षका लागि भवन निर्माण गरि भोगचलनको लागि दिएको जग्गामा भवन निर्माण गरिएको अध्यक्ष दिल शिरिषले जानकारी दिए । अध्यक्ष शिरिषले भवन निर्माणको लागि महासंघका सम्पूर्ण सदस्यहरु, विभिन्न संघसंस्था र व्यक्तिगत चन्दाबाट घर बनेको बताए ।

अध्यक्ष शिरिषले भवन निर्माणको लागि प्रदेश सरकार, बागलुङका १० ओटै स्थानिय सरकार र सूचना तथा सञ्चार मन्त्रालयबाट पनि सहयोग प्राप्त भएको बताए ।

१ करोड ५ हजार ९९ रुपैयाँ बजेटबाट भवन निर्माण सम्पन्न गरिएको महासंघका कोषाध्यक्ष विजय रानाले जानकारी दिए । उनले भवन निर्माणको लागि १ करोड बराबर रकम चन्दाबाट संकलन भएको बताए ।

महासंघको भवन बनेपछि सभाहल, सूचना केन्द्र, पुस्तकालय समेत बनाइएको छ । आधुनिक सूचना केन्द्रको लागि प्रभु बैंकले सहयोग गरेकाले निर्माणाधिन अवस्थामा रहेको र अन्तिम चरणमा रहेको सचिव थापाले बताए । आधुनिक सूचना केन्द्रको लागि प्रभु बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

 

महासंघले ढुंगामा कुदेर लोगो अंकित स्तम्भ पनि बनाएको छ । उक्त स्तम्भको उद्धघाटन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञावली र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले उद्घाटन गरेका थिए ।

महासंघले उद्घाटन समारोहको अवसरमा भवन निर्माणको लागि सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here