
बागलुङ, १४ मंसिर । झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच वटा नयाँ झोलुङ्गे थप भएका छन ।
गत आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न पालिकामा निर्माणधिन ३० मध्ये ५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको हो । गत आ.वमा काठेखोला गाउँपालिकामा तीन वटा आल्डाडा घाट, जन्तेखोला घाट र चिप्लेचौर घाट, जैमिनीको दारेगौडा घाट, साधुको मुखघाट, निसीखोला गाउँपालिकाको सरितारघाट र सेरावा–टुङ्गा घाटको पुल निर्माण कार्य सम्पन्न भएको छ ।
बन्दाबन्दीको कारण निर्माणको लागि आवश्यक सामाग्री ढुवानी र जनशक्ति परिचालनमा कठिन हुँदा अन्य २५ वटा पुल चालु आ.ब.कोमा क्रमागत योजना अन्तर्गत समावेश भएका छन् ।
गत वर्ष बागलुङको ढोरपाटनमा नगरपालिकामा ७, निसीखोला गाउँपालिकामा ७, बडिगाड गाउँपालिकामा ४, गलकोट नगरपालिकामा ५, काठेखोला गाउँपालिकामा ३, बरेङ्ग गाउँपालिका र जैमिनी नगरपालिकामा समान २/२ वटा पुल निर्माणको लक्ष्य राखिएको थियो । काठेखोलाका ३ र जैमिनीका २ बाहेक अन्य पुल यस वर्ष निर्माण हुने छन् ।
ताराखोला गाउँपालिकाका तीनसहित गत वर्ष जिल्लाभर ३३ पुल निर्माणको लागि लागि सर्भे, डिजाई र इष्टिमेट तयार भएको थियो । यद्यपी ताराखोलाका तीन पुल निर्माणको चरणमा प्रवेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन ।
नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाई (टिविएसयु) र आरटिएटि पोखराले प्राविधिक सहयोग गर्दै आएको छ ।
जिल्लामा पुल निर्माणको लागि व्यवस्थापकीय र सामाजिक परिचालनको काममा गैह्रसरकारी संस्था विवाइसी बागलुङले गर्दै आएको छ । संस्थाका झोलुङ्गे पुल निर्माण फोकलपर्सन प्रेम केसीको अनुसार बन्दबन्दीले प्रभावित भएका पुल चालु वर्षमा सम्पन्न हुने छन् ।
लामो समयको बन्दाबन्दीले आवश्यक फलामे सामग्री ढुवानी र बाहिरी जिल्लाबाट प्राविधिक झिकाउन मुस्किल हुँदा तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएको फोकल पर्सन केसीको भनाई छ ।
संघीय सरकारले पुल निर्माणको लागि सशर्त बजेट उपलब्ध गराउँछ । कुल बजेट मध्ये पुल क्षेत्रगत कार्यक्रमको ९२ प्रतिशत, स्थानीय तहको ६ प्रतिशत लगानी र २ प्रतिशत जनश्रमदानको प्रावधान रहेको केसीले जानकारी दिनुभयो ।
जिल्लामा पुल रणनीति २०६२ अनुसार पुल निर्माणको काम भैरहेको छ । विस २०७६ भदौसम्म जिल्लाभर ४ सय १४ वटा पुल छन । ति मध्ये १९२ पुनःस्थापना, ३० वा बृहत मर्मत, १० संरक्षण र २५ वटा प्रयोग विहिन अवस्थामा रहेका छन् ।
