अर्जुन कार्की
बागलुङ, ५ असोज । कोभिड–१९ (कोरोना भाइरस)को कारण गत चैतदेखि देश लकडाउन हुँदा शैक्षिक सत्र बन्द भयो । अहिले लकडाउन खुल्ला भएपछि शैक्षिक सत्र कहिलेबाट खुल्ला हुने अझै निश्चित भएको छैन ।

शैक्षिक सत्र बन्दपछि घर फर्किएका बागलुङका एक विद्यार्थीले स्थानियस्तरमै सामाग्री खोजेर ह्याचरी मेसिन निर्माण गरेका छन् । आइओई धरानमा कम्प्युटर इन्जिनियरिङको अन्तिम वर्षमा पढाइ गरिरहेका बागलुङ नगरपालिका–३ गहतेका समाधान शर्माले लकडाउनमा घर आएको बेला ह्याचरी मेसिन निर्माण गरेका हुन् ।

बागलुङमा बाहिरी जिल्लाबाट कुखुराको चल्ला ल्याइदै आएपनि लकडाउनको बेला त्यो सम्भवन नभएकोले उनले आफै ह्याचरी मेसिन निर्माण गरि आफ्नै फर्मा मार्फत चल्ला उत्पादन गर्न सफल भएका छन् । शर्माले घरमा कुखुरा फर्मा भएपनि लकडाउनको बेला बाहिरी जिल्लाबाट ल्याइदै आएको चल्ला नआउँदा समस्या भएकोले आफैले घरमा ह्याचरी मेसिन निर्माण गरेको बताए । ‘कोरोना महामारीको कारण देश लकडाउन हुँदा पढाइ बन्द भएकोले घर आएको थिए,’ शर्माले भने–‘घरमा चितवन लगायतका जिल्लाबाट कुखुराको चल्ला ल्याएर फर्मा संचालन भइरहेको थियो । लकडाउनको बेला बुबाले कुखुराको चल्ला ल्याउन हैरानी खेप्नुपरेको समस्या देखिरहेको बेला आफैले पनि मेसिन गराउन सकिन्छ भन्ने थाहा पाएर पछि निर्माण गरे ।’

उनले दाई सौभाग्यले कुखुरा र चल्लाहरुको जानकारी गराएपछि मेसिन बनाउन सम्भव भएको बताए । ‘मलाई कुखुरा र चल्लाहरुको तापक्रम लगायतका विषयमा थाहा थिएन्,’ शर्माले भने–‘दाई सौभाग्यले कुखुरा र चल्लाहरुको बारेमा जानकारी गराएपछि इन्टरनेटमा मेसिनको बारेमा खोजी गरेर मेसिन निर्माण गर्न सम्भवन भएको हो ।’ उनले आफु कम्प्युटर इन्जिनियरिङको विद्यार्थी भएपनि हाडवयर सम्बन्धी जानकारी भएकोले ह्याचरी मेसिन बनाउन सफल भएको बताए ।

शर्माले ह्याचरी मेसिन बनाउन आफुलाई बुबाले साथ दिएको जानकारी दिए । उनले मेसिन भित्र राखिने सामाग्रीहरु बाहिरबाट ल्याउनुपर्ने भएकाले आफुले लिष्ट तयार गरेको र बुबाले खोजेर ल्याएपछि पहिलो पटक मेसिन निर्माण सम्पन्न भएको बताए । ‘लकडाउनको बेला बाहिरी जिल्लाबाट सामाग्रीहरु मगाउन सम्भवन थिएन,’ उनले भने–‘बुबालाई मेसिन बनाउन चाहिने सामाग्रीहरुको लिष्ट बनाएर दिएपछि उहाँले बजारमा खोज्नुभयो र फर्निचरको काम पनि एक जना दाई र बुबाले गर्नुभएपछि निर्माण सम्भव भएको हो ।’ उनले बजारमा कच्चा पदार्थ खोजेर पहिलो पटक कन्ट्रोलर बनाइ ह्याचरी मेसिन निर्माण गरेको बताए । ‘पहिलो पटक मेसिन निर्माण गर्दा बजार लकडाउनको कारण बन्द भएकोले सामानहरु खेजेर कन्ट्रोलर बनाएपछि मात्र मेसिन बनाउन सफल भए’ शर्माले भने ।

उनले लकडाउन खुलेपछि बाहिरबाट सामानहरु ल्याउने गरेको र केहि थपेर बनाएको बताए । मेसिन भित्र अण्डा तताउनको लागि हिटर, तापक्रम मिलाउनको लागि कन्ट्रोलर, थर्ममिटर, हाइग्रोमिटरहरु प्रयोग गरिएको शर्माले बताए । उनले विद्युत बचत गर्न र विद्युत गइरहने समस्याको अन्त्यको लागि समेत आफुले मेसिनमा थप सामाग्रीहरु प्रयोग गरेको बताए ।

शर्माले निर्माण गरेको ह्याचरी मेसिनमा फर्निचरको सामाग्री बुबा र दाईले बनाएको र हिटर, कन्ट्रोलरहरु बाहिरबाट किनेर ल्याएर फिनिसिङ गरिएको बताए । उनले ठूलो कम्पनीहरुले अण्डाहरुलाई तल माथि लगाउनको लागि मोटरको प्रयोग गर्ने गरेपनि मोटर प्रयोग गर्दा महंगो पर्ने भएकाले आफुले ३५ डिग्रीको टे« गराएर अण्डालाई रोटेसन गराउन सकिने बनाएको बताए ।

पहिलो पटक निर्माण गरिएको मेसिनबाट शर्माका बुबाले संचालन गर्दै आएको कुखुरा फर्मा उत्पादन भएका अण्डाहरुबाट अहिले अहिले चल्ला निकालिएको छ । शर्माले आफुले गराएको मेसिनबाट भाले लगाएको अण्डा राखेर ८० प्रतिशत चल्ला निकाल्न सफल भएको जानकारी दिए ।

उनले मेसिनमा एक पटकमा एक हजारसम्म अण्डाहरु राख्न सकिने र उक्त मेसिनमा कुखुरा, टर्कि, बटाई, हाँसहरुको अण्डा राखेर चल्ला उत्पादन गर्न सकिने जानकारी दिए । शर्माले अहिलेसम्म चार ओटा मेसिन निर्माण गरेको बताए ।

उक्त मेसिन अहिले ९० हजार रुपैयाँमा विक्रि गरिएको शर्माका बुबा बद्रि शर्माले बताए । उनले खरिद कर्ताहरुलाई उक्त मेसिनमा जडान गरिएको कन्ट्रोलरको एक वर्ष वारेन्टी दिइएको जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here