पश्चिम बूर्तिवाङ्गमा विद्युतको ‘नो लाईट’ काउन्टर

बागलुङ, १ भदौ ।
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बागलुङको दोस्रो व्यापारीक केन्द्र बूर्तिवाङ्ग बजारमा ‘नो लाईट तथा महशुल संकलन केन्द्र स्थापना गरेको छ ।

प्राधिकरणले स्थापनाको ३५औँ वार्षिकोत्सवको अवसरमा पश्चिमका चार गाउँपालिकालाई लक्षित गरी काउन्टर स्थापना गरेको हो । महशुल काउन्टर उद्घाटन पछि बोल्दै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले केन्द्रीय विद्युत प्रशारण पछि ठूला उद्योग कलकारखाना संचालनमा सहयोग पुग्ने बताउनुभयो ।

‘अब माईक्रोहाईड्रोको भरमा बस्नु पर्ने छैन’ उहाँले भन्नुभयो–‘उपभोक्ताको सहजताको विद्युत विस्तारको काम पनि छिटै गछौँ ।’ काउन्टरबाट ढोरपाटन क्षेत्रको विद्युत मिटर रिडिङ्ग, मिटर बाक्स वितरण, माग फारम संकलन, मर्मत सम्भार, विद्युत महशुल संकलन लगायतका सेवा प्रवाह हुने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले बताउनुभयो ।

ढोरपाटन नगरपालिकामा भदौ भित्र केन्द्रीय विद्युत प्रशारण लाईन सुरु गरिने छ । हालसम्म सो क्षेत्रमा एक हजार दुई सय ग्राहक रहेका छन् । विद्युत विस्तारको सम्पूर्ण काम सम्पन्न भए पनि विद्युत प्रशारण भएको छैन । घरघरमा मिटर जडान लगायतका प्राविधिक काम सम्पन्न भएकोले भदौमा विजुली बाल्न सकिने कार्यालय प्रमुख गोसलीको भनाई छ ।

बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा अझै पनि केन्द्रीत विद्युत प्रशारण लाईन पुगेको छैन । बडिगाड र ढोरपाटन नगरमा तत्काल विद्युत जडान गरे पनि तमान र निसीखोलामा चालु वर्षको अन्तिमसम्म विद्युत पु¥याउने लक्ष्य रहेको छ ।

बूर्तिवाङ्ग क्षेत्रमा केन्द्रीय विद्युत प्रशारणको लागि गल्कोट नगरपालिका–५ हरिचौरमा आईतबार ३३/११ केभी ३ एमभीए ट्रान्सफरमर स्थापना गरिएको छ । ट्रान्सफरमर जडान पछि ५० किलो मिटर टाढा रहेको ढोरपाटन नगरपालिकाको बूर्तिवाङ्गमा लाईन जडानमा सहज हुने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here