सिवाईसीको शेयर सदस्य हुनुहुन्छ ? अब रिचार्ज गर्न मिसकल गर्नुहोस्

बागलुङ, ३० साउन ।
के तपाई सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको शेयर सदस्य हुनुहुन्छ ? हुनुहन्छ भने अब तपाईहरुलाई मोबाइलमा रिचार्ज गर्नको लागि पसलमा गइरहनुपर्ने झन्झट व्यहोर्नुपर्दैन् । सिवाईसीले आफ्ना शेयर सदस्यहरुलाई अफिसियल मोबाइलमा मिस्कल गरेको भरमा स्वतः रिचार्ज हुने सुविधा उपलब्ध गराएको छ ।

शुक्रबार दिउँसो सहकारीका निवर्तमान सल्लाहकार एवं वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माले आफ्नो मोबाइलबाट अफिसियल नम्बर ९८६०५८०६०१ म मिसकल गरेर मिसकल बैंकिङ्ग सेवाको शुभारम्भ गर्नुभयो । शुभारम्भ पछि बोल्दै शर्माले सहकारीले समय सापेक्ष रुपमा आफ्ना सेवा र गतिविधि अघि बढाएका कारण आकर्षण र विश्वास बढ्दै गएको बताउनुभयो । उहाँले अहिलेको युग प्रविधिको युग भएकाले सहकारीले त्यस अनुरुप आफ्ना सेवाहरु थप्दै जाँदा शेयर सदस्यहरुलाई सहजता प्रदान गरेको बताउनुभयो ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले मिसकल बैंकिङ्ग सेवा प्राप्त गर्नको लागि सिवाईसीको मोबाइल बैंकिङ्ग सेवा सुचारु गरेर आफ्नो मोबाइल नम्बर कार्यालयमा रजिष्टार गर्नुपर्ने बताउनुभयो । उहाँले शेयर सदस्यहरुले एक मिसकल गर्दा पाँच सेकेण्ड भित्र एक सय रुपैयाँ रिचार्ज उपलब्ध हुने बताउनुभयो । अध्यक्ष पौडेलले एक जना शेयर सदस्यले एक दिनमा पाँच पटकसम्म उक्त सेवा प्राप्त गर्न सक्ने जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष पौडेलले सिवाईसीले जिल्लाको ८० प्रतिशत घरधुरीलाई समेट्ने लक्ष्यका साथ अगाडि बढिरहेकाले सदस्यहरुका सुविधाका लागि सबै खाले प्रविधि र सेवा दिन तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सिवाइसी सञ्चार उपसमितिका सदस्य तथा पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक बिप्लव शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्माको अध्यक्षता, सचिव जयराम भारीको स्वागत र प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सिवाईसी सहकारीमा साउन २८ गतेसम्म कुल सम्पत्ति र पँुजी तथा दायित्व एक अर्व ५७ करोड ७१ लख ७५ हजार आठ सय ९५ रुपैयाँ रहेको छभने दश हजार दुई सय ३३ जना शेयर सदस्य र एक हजार चार सय ७५ जना बाल बचतकर्ता रहेको सहकारीले जनाएको छ । बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको सहकारीले जिल्लाका दश स्थानबाट शाखाको रुपमा सेवा प्रदान गरिरहेको छभने एटिएम, मोबाइल बैंकिङ्ग क्यूआर कोड, ट्याबलेट बैंकिङ सेवा संचालन गरिरहेको सहकारीका सहसचिव सुवास आचार्यले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here