
बागलुङ, १९ साउन ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि काठेखोला गाउँपालिकालाई जापान समाज विहुँकोटले ठूलो मात्रामा सहयोग गरेको छ । समाजले विहुँकोट समाज जापानसँगको सहकार्यमा गाउँपालिकालाई पिपिई, माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै आएको छ ।
जापान समाज विहुँकोटले विहुँकोट समाज जापनको सहयोगमा गाउँपालिकालाई पहिलो चरणमा १ लाख ५० हजार बराबरको पिपिई, थर्मन गन, मास्क, सेनिटाइज र स्वास्थ्य सामाग्री सहयोग गरेको थियोभने दोस्रो चरणमा ९० हजार बराबरको २० थान पिपिई सेट सहित माक्स, सेनिटाइजर सहयोग गरेको थियो ।
यस्तै जापान समाज विहुँकोटले ३ लाख रुपैयाँ लागतमा काठेखोला गाउँपालिकाका २ वटा क्याम्पस, ११ वटा माध्यमिक विद्यालय, काठेखोला गाउँपालिका–५ र ६ विहुँका ११ वटा प्राथमिक र आधारभूत विद्यालय र मन्दिर र कोतघरलाई खानेपानी धारा सहितको हिलट्याङ्क वितरण गरिने योजना गराएको अध्यक्ष सुदर्शन कंडेलले जानकारी दिनुभयो । जापान समाज बिहुँकोको १ करोडको अक्षयकोष रहेको र त्यसैको व्याजबाट सहयोगमा खर्च गरिने अध्यक्ष कंडेलले बताउनुभयो ।
यस्तै समाजले कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको अवधिमा विहुँ हुँदै हिड्ने पैदल यात्रीहरुलाई धम्जा प्रहरी चौकी मार्फत खाजाको व्यवस्था गरेको थियो । यस्तै काठेखोला–५ र ६ मा काठेखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेकाहरुलाई मास्क, सेनिटाइजर र साबुन सहयोग गरेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।
समाजले लकडाउनको अवधिमा पनि मध्यपहाडी लोकमार्ग अन्तरगत विहुँ खण्डमा काम गरिरहेका मजदुरहरुलाई खाद्यान्न समेत सहयोग गरेको थियो ।
काठेखोला गाउँपालिका–५ र ६ विहुँमा सामाजिक कार्य गर्ने गरी स्थापना भएको जापान समाज विहुँले कोरोना महामारीको बेला सबैलाई सहयोग गर्नुपर्ने उद्देश्यले सहयोग गरेको जनाएको छ । समाजका अध्यक्ष कंडेलले विहुँकोटहरुले स्थापना गरेको समाज भएपनि दुःख पर्दा सवै नेपाली एक जुट हुनुपर्ने भएकाले महामारी नियन्त्रण र रोकथामको लागि अग्रणि भुमिका निर्वाह गरेको गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो ।


