
बागलुङ, १ असार ।
बागलुङको पुरानो सहकारी एकता सहकारी संस्थाले कोरोना महमारीको विचमा शेयर सदस्यहरुलाई व्याज र जरिवानामा छुट दिने भएको छ ।
सहकारीले कोरोना महामारीको कारण मुलुक बन्दाबन्दीको मर्कामा परेका शेयर सदस्यहरुलाई बचतको व्याज वृद्धि गर्ने र ऋणमा व्याज छुट दिने निर्णय गरेको हो ।
सहकारीले लकडाउन सुरु भएको चैत महिनादेखि जरिवानामा सय प्रतिशत छुट गरिएको र असार मसान्तसम्मको व्याज भुक्तानी गर्ने शेयर सदस्यहरुलाई १० प्रतिशत र असार महिनाको व्याजमा साँवाको २ प्रतिशत व्याज छुट दिने निर्णय गरेको सहकारीका प्रबन्धक दिपक राजभण्डारीले बताउनुभयो ।
सहकारीले शेयर सदस्यहरुलाई बचतमा पनि व्याज वृद्धिको घोषणा गरेको छ । सहकारीले निक्षेप बचत तर्फ साधारण बचतमा ५ प्रतिशत, दैनिक, साप्ताहिक र मासिक बचतमा ८ प्रतिशत, एकता बचतमा ६ प्रतिशत, एकता विशेष बचतमा ७ प्रतिशत, बाल शेयर बचतमा १० प्रतिशत व्याज प्रदान घोषणा गरेको छ ।
यस्तै आवधिक निक्षेप तर्फ ३ महिने अवधिमा त्रैमासिक र एकमुष्ठ व्याज भुक्तानी ७ प्रतिशत, ६ महिनेमा त्रैमासिक र एकमुष्ठ व्याज भुक्तानी ८ प्रतिशत, १ बर्षेमा त्रैमासिक व्याज भुक्तानीमा ९ प्रतिशत र एकमुष्ठ व्याज भुक्तानीमा ९.५ प्रतिशत, २ बर्षेमा त्रैमासिक भुक्तानीमा १० प्रतिशत र एकमुष्ठ भुक्तानीमा १०.५ प्रतिशत र ३ बर्षेमा त्रैमासिक भुक्तानीमा ११ प्रतिशत र एकमुष्ठ व्याज भुक्तानीमा १२ प्रतिशत र १ वर्षे भन्दा माथि अवधिमा जेष्ठ नागरिक, एकल महिलाहरुलाई १ प्रतिशत व्याजदर थप वा मासिक भुक्तानी लिन चाहने सदस्यहरुलाई बार्षिक १ महिना बराबरको थप व्याज प्रदान गरिने निर्णय गरेको प्रबन्धक राजभण्डारीले बताउनुभयो ।
यस्तै सहकारीले कोरोना महामारीमा सवै शेयर सदस्यको कोरोना बीमा गरिदिने समेत निर्णय गरेको छ । सहकारीले शेयर सदस्यहरुले ५० हजार र १ लाखको बीमा गर्न सक्ने र उक्त बीमाको लागि ५० प्रतिशत सहकारीले व्यहोर्ने निर्णय गरेको छ ।
सहकारीले सूचना जारी गरि १ लाख रुपैयाँको लागि ६ सय र ५० हजार रुपैयाँको कोरोना बीमाको लागि ३ सय लाग्ने र उक्त रकमको ५० प्रतिशत सहकारीले व्यहोर्ने जानकारी गराएको छ ।
सहकारीले कोरोना बीमा ३ महिनादेखि ९९ बर्षसम्मकोले गर्ने सक्ने बताएको छ । हाल ८ सय ३७ जना शेयर सदस्य रहेको सहकारीका १ सय ५० जना भन्दा बढि शेयर सदस्यले कोरोना बीमा गरि सकेको प्रबन्धक राजभण्डारीले बताउनुभयो । उहाँले सहकारीमा कार्यरत १० जना कर्मचारीको सहकारीले १ लाख रुपैयाँको बीमा गरिदिएको बताउनुभयो ।
