
बागलुङ, २१ जेठ ।
काठेखोला गाउँपालिका वडा नम्बर ६ विहुँको वडा कार्यालय भवनको बुधवार शिलन्यास गरिएको छ ।
बहुवर्षे योजना अन्तरगत प्रदेश सरकारको सांसद विकास कोषबाट २३ लाख रुपैयाँ र जनश्रमदानबाट २ लाख ५० हजार गरी २५ लाख ५० हजारमा पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्यका साथ भवनको शिलन्यास गरिएको वडाअध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिनुभयो ।
वडाअध्यक्ष कंडेलले उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको भवनको पहिलो चरणमा असार २० गतेसम्म भुइतलाको ढलान र पिल्लरको काम सम्पन्न गरिने बताउनुभयो ।
भवन निर्माणको शिलान्यास गाउँपालिका अध्यक्ष अमर थापाले गर्नुभएको थियो । शिलान्यास पछि बोल्दै अध्यक्ष थापाले समयमै सम्पन्न गर्नको लागि उपभोक्ता समितिलाई निर्देशन दिनुभएको छ । उहाँले बाँकी काम आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्नेगरि गाउँपालिकाले बजेट विनियोजत गर्ने जानकारी गराउनुभएको थियो ।
भवन २ तलाको निर्माण गरिने र ८ ओटा कोठा हुने वडाअध्यक्ष कंडेलले बताउनुभयो ।
शिलान्यास कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष युक्तप्रसाद कंडेल, संचालन वडा सचिव अमृता पुन र उपभोक्ता समितिका अध्यक्ष हरिलाल कंडेलले विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो ।
काठेखोला–६ विहुँले अहिले भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । ४ ओटा कोठा भाडामा लिएर सेवा प्रवाह गरिरहेको वडाले मासिक १० हजार ६ सय रुपैयाँ भाडा तिर्ने गरेको वडाअध्यक्ष कंडेलले बताउनुभयो ।



