बागलुङ, ३ जेठ ।
बागलुङमा कोरोना संक्रमणको जोखिम हुन नदिन सदरमुकाममा संचालित सहकारी संस्थाहरुले आलोपालो गरी सेवा प्रवाह गर्ने भएका छन् ।
जिल्ला सहकारी संघ बागलुङले बजार भित्र रहेका ६९ भन्दा बढी सहकारीहरुलाई हप्तामा २ दिन सेवा प्रवाह गर्न समय तालिका निर्धारण गरिदिएको छ ।
संघको शनिबार बसेको बैठकले ६९ ओटा सहकारीहरुलाई हप्तामा २ दिन सेवा प्रवाह गर्न र सहकारी बैंक सहित ९ ओटा सहकारी संघहरुले दैनिक सेवा प्रवाह गर्न निर्देशन जारी गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । उहाँले आईतबार र बुधबार २२ ओटा, सोमबार र बिहिबार २१ ओटा र मंगलबार र शुक्रबार खोल्न पाउने निर्णय भएको बताउनुभयो । यस्तै छुटेका सहकारीहरुले मंगलबार र शुक्रबार सेवा प्रवाह गर्न संघले आग्रह गरेको छ ।
अध्यक्ष गौतमले राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ लि. जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, जिल्ला सूचना तथा सञ्चार सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला फलफुल तथा तरकारी उत्पादक सहकारी संघ, जिल्ला स्वास्थय सहकारी संघ र जिल्ला कृषि सहकारी संघ लिमिटेड हप्ताको ६ दिननै खुल्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरुको समन्वयको लागि बैंक र संघलाई हप्ताभर नै खुलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
गौतमले सहकारी संस्थाहरु १० देखि १ बजेसम्म सेवा प्रवाह गर्नेछनभने संघले १० बजेदेखि ४ बजेसम्म नै सेवा प्रवाह गर्ने बताउनुभयो । सवै सहकारीहरु एकसाथ खुल्दा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर सहकारीहरु खोल्ने निर्णय गरिएको संघले जनाएको छ ।
यस्तै संघले सहकारीबाट ऋण लिई व्यापार व्यवसाय गर्दै आएका शेयर सदस्यहरुको परिस्थितिका कारण संस्थाको नीति नियम अनुसार ऋणको व्याज भुक्तानी गर्दा कूल व्याज रकमको १० प्रतिशत छुट दिन सहकारीहरुलाई अनुरोध गरेको छ । यस्तै ऋण लगानीमा आगामी जेठ मसान्तसम्म ऋणको भाका ननाघ्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।
संघले सहकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्र भित्रका स्थानिय तहहरुले संचालन गरेको कोरोना राहत कोषमा संस्थाको अवस्था अनुसार सहयोग गरि जिल्ला सहकारी संघलाई जानकारी गराउन समेत अनुरोध गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।



