
बागलुङ, २ जेठ
बागलुङ बजारका खाद्यान्न पसलहरु विहान र साँझ मात्र खोल्ने भएका छन् ।
सरकारले लकडाउनलाई थप कडाई गर्न निर्देशन गरेपछि शुक्रबार बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, तरकारी तथा फलफुल व्यवसायी संघ, खाद्यान्न व्यवसायी र जिल्ला प्रहरी कार्यालयको संयुक्त बैठकले शनिबारदेखि लागुहुने गरी खाद्यान्न र तरकारी पसलहरु विहान र बेलुका मात्र खोल्ने निर्णय गरेका हुन् ।
दिनभर पसलहरु खोल्दा बजारमा किनमेलको लागि भन्दै लकडाउन उल्लंघन गर्नेहरु बढेको भन्दै विहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म पसल खोल्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
व्यवसायीहरुले १, २ महिनालाई पुग्ने खाद्यान्न रहेको जनाएपछि जेठ ५ गतेसम्म लकडाउनलाई पूर्ण रुपमा कडाई गर्दैै बाहिरी जिल्लाबाट आउने खाद्यान्नलाई केहि समयलाई रोक्ने निर्णय गरेको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो । ‘बजारका व्यवसायीहरुले १, २ महिनालाई पुग्ने खाद्यान्न बजारमा रहेको व्यवसायीहरुले जानकारी गराउनुभयो,’ नगरप्रमुख पौडेलले भन्नुभयो–‘खाद्यान्नको निहुँमा दिनभर बजार घुम्नेहरु बढेकोले विहान र साँझ मात्र पसल खोल्ने र बाहिरी जिल्लाबाट आउने खाद्यान्न केहि समयलाई रोक्ने निर्णय गरिएको हो ।’
तरकारी पसलहरुलाई भने स्थानिय तरकारी खरिद विक्रि गर्न नगरपालिकाले निर्देशन दिएको छ । बाहिरी जिल्लाबाट आउने तरकारीलाई केहि समय बन्द हुने भएकाले स्थानियहरुले उत्पादन गरेका तरकारी खरिद गरि विक्रि गर्न अनुरोध गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो ।
गाउँमा खाद्यान्न लैजाउने सवारीको हकमा विहान र साँझ पसल खोलेको समयमा मात्र लैजान सक्ने निर्णय भएको छ । गाउँबाट खाद्यान्न लाने भन्दै दिनभर पिकअप जिपहरु बजारमा घुम्दा लकडाउन खुल्ला भएको भन्दै बजारबासीहरु पनि सडकमा हिड्ने हुँदा पसल खोल्ने समय भित्रै खाद्यान्न लैजानुपर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
खाद्यान्न बोक्ने सवारीसाधनहरु दिउँसो बजारमा संचालन गरिएका कारवाही गरिने नगरपालिकाले जनाएको छ । बैठकको अध्यक्षता नगर उपप्रमुख सुरेन्द्र खड्काले गर्नुभएको थियो ।
