काठेखोला गाउँपालिकाका सम्पूर्ण वडामा फुड बैंकको स्थापना गरिने

बागलुङ, १० बैशाख ।
काठेखोला गाउँपालिकाले सम्पूर्ण वडामा फुड बैंकको स्थापना गर्ने भएको छ ।
गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले लकडाउनको कारण प्रभावित बनेका विपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि ८ वटै वडामा फुड बैंकको स्थापना गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विकले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र उत्पादन हुने मकै, गहुँ, कोदो, आलु लगायतका खाद्यान्नहरु खरिद गरी फुड बैंकको माध्यमद्वारा वितरण गरिने निर्णय गरेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । उहाँले फुड बैंकको कार्यविधि निर्माण गरि दोस्रो चरणको राहत वितरण गरिने बताउनुभयो । फुड बैंकको लागि खाद्यान्न संकलन गर्ने र जनस्तरमा स्वस्फुर्त रुपमा सहयोगआव्हान गरिने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरस रोकथामको लागि मुलुक लकडाउनको अवस्थामा रहेको र अझै भयाबह अवस्था आउन सक्ने भएकाले खाद्यान्न अभाव हुन नदिन सम्पूर्ण वडामा फुड बैंकको स्थापना गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । विपन्न परिवारहरुलाई फुड बैंक मार्फत वडा कार्यालयहरुले राहत वितरण गर्नेछन् ।
गाउँपालिकाले पहिलो चरणको राहत वितरण वडा नम्बर ७ रेशमा मात्र केहि बाँकी रहेको जनाएको छ । यस्तै लकडाउनलाई प्रभावित नहुने गरि गाउँपालिकामा सम्झौता भएका योजनाहरुलाई कार्यान्वयन गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।
ठेक्का सम्झौता भइसकेका योजनाहरुलाई समयमै सम्पन्न गर्नको लागि लकडाउनको पालना गर्दै दुरी कायम गरेर काम गर्न आग्रह गर्ने निर्णय गरेको कार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिनुभयो ।
सिमेन्ट, बालुवा, छड लगायतका निर्माण सामाग्रिको लागि गाउँपालिकाले जिल्ला प्रशासनसँग समन्वय गरि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोष संचालनको लागि कार्यविधि बनाइने भएको छ । बुधबारको कार्यपालिका बैठकमा उक्त कार्यविधिको नमुना सम्पूर्ण सदस्यहरुलाई अध्ययन गर्न उपलब्ध गराइएको छ । नमुनाको बारेमा अर्को बैठकमा छलफल गरि कार्यविधि निर्माण गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले १० लाख रुपैयाँ राखि स्थापना गरेको उक्त कोषमा विदेशमा रहेका प्रवासि नेपाली सहित, संघसंस्था र व्यक्तिहरुले सहयोग गरेका छन् । बुधबारसम्म ३९ लाख ४० हजार २ सय ५० रुपैयाँ रकम संकलन भएको प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकले कोठमा सहयोग गर्ने संघसंस्था, कर्मचारी, उद्योगि, व्यक्ति, प्रवासि नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेको कार्यपालिका सदस्य विकले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here