
बागलुङ, ८ बैशाख ।
बागलुङको ताराखोला गाउँपालिका क्षेत्रभित्र रहेका करिव एक सय पसलको अनुगमन गर्दा ८० वटामा म्याद गुज्रेका खाद्य बस्तुहरु भेटिएको छ ।
कोरोना भाइरसको महामारीको कारण देश लकडाउन भएपछि गाउँपालिकामा अत्यावश्यक खाद्यबस्तुको आपूर्तिको अवस्था तथा कालो बजारी नियन्त्रण र गुरणस्तरीय खाद्यबस्तुको सुनिश्चिता गर्न गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनको नेतृत्वमा बैशाख ३ गतेदेखि ७ गतेसम्म पसलहरुको अनुगमन गरिएको थियो ।

उपाध्यक्ष पुनको नेतृत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, लेखा अधिकृत, ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज, स्वास्थ्य शाखा का सहसंयोजक वडाका जनप्रतिनिधी तथा अन्य समाजसेवीहरुको उपस्थितिमा सघन बजार अनुगमन गरि बरामद गरिएका अखाद्य बस्तुहरु नष्ट गरिएको छ । अनुगमनको क्रममा अधिकांश पसलहरुमा रहेका जंकफुडहरुः चाउचाउ, विस्कुट, पेय पदार्थ, चिउरा, भुजा, चकलेट, मिठाईहरु बढि मिति गुज्रिएको भटिएको थियोभने चामल, औषधी, सौन्दर्य सामाग्रीहरु समेतमा मिति गुज्रिएको भेटिएको गाउँपालिका उपाध्यक्ष पुनले बताउनुभयो ।

अनुगमनको क्रममा अखाद्य बस्तुहरुको विवरण सहित पसल संचाललकहरुलाई आउँदा दिनहरुमा त्यस्ता बस्तुहरुको विक्री वितरण गर्न र गरेको भेटिएमा कारवाही गरिने लिखित निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
