‘लकडाउन’मा मजदुर परिवारलाई काठेखोला गाउँपालिकाको खाद्यन्न सहयोग

140

बागलुङ, १२ चैत ।
सरकारले मुलुक ‘लकडाउन’ गरे पछि दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्यामा परेका मजदुर परिवारलाई काठेखोला गाउँपालिकाले राहत दिन थालेको छ ।


काम विहिन हुँदा दैनिकी चलाउन मुस्किलमा परेका मजदुर परिवारलाई चामल, दाल र नुन जस्ता खाद्यन्न सामाग्री वितरण सुरु गरेको हो ।
राहत सामाग्री काठेखोला गाउँपालिका–२ भीमापोखरादेखि वितरण गर्नु सुरु गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।
अन्य वडामा क्रमश वितरण गर्दै जाने बताइएको छ । गाउँपालिकाले वडा नम्बर १ मा १५, ३ मा २०, ४ मा १५, वडा नम्बर ५ बिहुँमा २०, लेखानीमा २० र रेशमा ३० जना परिवारलाई राहत दिने छ ।


वडा नम्बर ६ बिहुँमा दैनिक ज्याला मजदुरीका परिवार नभएको उल्लेख गरिएको छ । सरकारले मुलुक ‘लकडाउन’ गरे पछि निर्माण क्षेत्र पूर्णरुपमा बन्द भएको छ । कुनै पनि समूहमा गरिने कार्य बन्द छन् ।
कोरोनाले ल्याएको संकट सामनाका लागि लक डाउन गरिएको र दैनिक कामकाज ठप्प भएको परिस्थितिमा तत्कालका लागि प्रति परिवार २५ किलोको चामल, ३ केजी दाल र दुई पोका नुन राहत स्वरुप प्रदान गरिएको वडा अध्यक्ष बिद्यापति शर्माले बताउनुभयो ।


गाउँपालिकाले सबै वडाका अध्यक्ष मार्फत दैनिक ज्यालामा मजदुरी गरेर जीवन गुजारा गर्नेहरुको तथ्यांक संकलन गर्ने क्रम जारी रहेको र उनीहरुलाई लकडाउनका कारण दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले खाद्यान्न सामग्री प्रदान गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो ।
यस्तै, काठेखोला गाउँपालिका–८ लेखानीमा वैदेशिक रोजगारीबाट फर्केका ९ जनालाई होम आईसोलेसनमा राखिएको छ । वडाध्यक्ष चित्रकला श्रीसको अनुसार भारत, जापान र दुवईबाट घर फर्केका सबै जनालाई न्युनतम एक हप्ता घरभित्रै बस्न अनुरोध गरेको बताउनुभयो ।
उनीहरुको निगरानी र रेखदेखको लागि सम्बन्धीत वडाका विपत व्यवस्थापन समितिका सदस्यलाई जिम्मेवारी तोकिएको छ । आवश्यकता अनुसार स्वास्थ्य परीक्षण पनि गरिने अध्यक्ष श्रीसको भनाई छ ।

 

तस्विरः अमर थापाको फेसबुक वालबाट साभार ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here