जनहित माविको भवन शिलान्यास

बागलुङ, १० फागुन
गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयको भवन निर्माण कार्य शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा बन्ने चारकोठे भवनको शनिबार गण्डकी प्रदेशसभा सदस्य चन्द्र बुढा ‘सागर’ले शिलान्यास गर्नुभयो ।
शिलान्यासपछि बोल्दै बुढाले सामुदायिक विद्यालयको भौतिक, शैक्षिक सुधारमा राज्यले लगानी बढाएको बताउनुभयो । उहाँले पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । “शिक्षामा राज्यको ठूलो लगानी छ, तीनै तहका सरकार शिक्षाको विकासमा गम्भीर छन्”, उहाँले भन्नुभयो ।


शिक्षा साझा चिन्ता र सरोकारको क्षेत्र भएकाले यसको विकासमा सबै मिलेर अघि बढ्नुपर्ने बुढाको भनाइ छ । उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका विद्यालयको पुनःनिर्माणमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाइँले भूकम्पबाट क्षति भएका विद्यालयको पुनःनिर्माणमा ढिलाइ नहुने बताउनुभयो । उहाँले निर्माणका चरणमा आर्थिक, प्राविधिकलगायत कुनै पनि समस्या आउन नदिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भवनका लागि प्राधिकरणबाट रु. ७० लाख बजेट विनीयोजन भएको छ । आगामी जेठ मसान्त भित्रै निर्माण पूरा गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो । उहाँले स्थानीय स्रोत, साधन र सीपको प्रयोग गरेर विद्यालय भवन बनाइने उल्लेख गर्नुभयो ।
भवन शिलान्यासका क्रममा स्थानीय फूलबारी आमा समूह, प्रगतिशील कृषि समूह र जनहित कृषि समूहका सदस्यले भजनकीर्तन गरेका थिए । भूकम्पका कारण जीर्ण बनेको विद्यालय भवन बन्ने भएपछि स्थानीयवासी पनि खुसी छन् । गत असोजमा पनि जनश्रमदान र निजी स्रोतबाट सो विद्यालयमा चार कोठा थप गरिएको थियो ।


रु. २० लाख खर्चेर कक्षाकोठा बनाइएकामा रु. सात लाख जनश्रमदान र बाँकी रकम विद्यालयको आफ्नै स्रोतबाट खर्च भएको थियो । पुरानो एकतले पक्की भवनको माथि कोठा थप गरिएको थियो ।
विसं २०२१ सालमा खुलेको विद्यालयलले यही वर्षदेखि कक्षा ११ को पढाइ शुरु गरेको छ । विद्यालयमा एक सय ८० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा थप र विद्यार्थी संख्या बढेसँगै विद्यालयलाई भवनको अभाव छ । भएका भवन पनि पुराना र जीर्ण छन् ।
विद्यालयले कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्दै आएको छ । बालबालिकाको पठनपाठन सहज बनाउन दिवा खाजाकोसमेत व्यवस्था छ । विद्यालयले कक्षा दशसम्मै अङ्ग्रेजी माध्यममा पढाउने तयारी गरेको छ । भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा योजना बनाएर काम थालिएको प्रअ देवबहादुर खत्रीले बताउनुभयो ।
भवन शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षता, प्रअ खत्रीको स्वागत र शिक्षक टीका थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here