
पोखरा, ७ फागुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि सांसदहरूको सुविधामा बृद्धि भएको छ । यसअघि पनि २०७५ को वैशाख २२ गतेको निर्णयाानुसार बैठक भत्ता ७५० रुपैयाँबाट एक हजार पु¥याइएको थियो ।
यातायात सुविधा ७५० रुपैयाँ पु¥याइएको थियो भने राजधानीमै घर भएका सांसदहरूलाई पनि मासिक सातहजार पाँचसय रुपैयाँ मर्मतको नाममा लिने बाटो खुलाइएको थियो । चालु आर्थिक वर्षदेखि नै लागु हुने गरि मन्त्रीदेखि सांसदहरूलाई पनि स्वकीय सचिव राख्ने निर्णय भएको छ ।
उक्त निर्णयले वार्षिक २ करोड तीन लाख रुपैयाँको व्ययभार थप्ने निर्णय मन्त्रिपरिषदले गरिसकेको छ र यो निर्णय गएको साउनदेखि नै लागु पनि भइसकेको छ । यसबाहेक पुन एकपटक गण्डकीका मुख्यमन्त्रीदेखि सांसदसम्मको तलबमान बढोत्तरी गरिएको छ ।
पौष ९ गतेको मन्त्रिपरिषद बैठकको २ नं. निर्णयमा भनिएको छ, ‘आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेशस्तरका मन्त्री, प्रदेशसभाका पारिश्रमिक वृद्धि सम्बन्धि विषयको प्रस्ताव स्विकृत गरियो ।’ सोही निर्णयको आधारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले फागुन ५ गते राजपत्रमा सूचना प्रकाशन गरि तीन बुँदे सूचना जारी गरेको छ ।
सूचनामा साउन १ गतेदेखि नै लागु हुने व्योहोरा सहित मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी र प्रदेश सरकारको कुनै पद सरहको तलब सुविधा सरकारी बजेटबाट पाउने गरि नियुक्त भएका प्रदेश नीति तथा योजना आयोजका उपाध्यक्ष र सदस्य, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सबैलाई नयाँ तलबमान उल्लेख गराउने भनिएको छ ।
यस्तै, ६ महिना सेवा अवधि पुरा गरेको स्वकीय सचिवालयका कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च पनि दिइने उल्लेख छ । यस्तै, मुख्य न्यायधीवक्ताको तलबमान उच्च अदालतका न्यायधीशको नयाँ तलब समान हुने उल्लेख गरिएको छ । राजपत्रमा प्रकाशित यस सूचनाका आधारमा गण्डकीमा मात्रै वार्षिक ५७ लाख ५२ हजार रुपैयाँ भन्दा बढि रकम तलबमा खर्च हुने भएको छ ।
साउनदेखि लागु हुने तलबमान अनुसार सबैभन्दा बढि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको तलबमा वृद्धि भएको छ । उहाँले मासिक ७० हजार ७३० रुपैयाँ पुगेको छ । गतवर्ष उहाँको मासिक तलब ६० हजार ९७० रुपैयाँ थियो ।
यस्तै, मासिक ५२ हजार रुपैयाँ तलबमान भएका मन्त्रीहरूले साउन यता थप आठ हजार ३२० रुपैयाँ बढि अर्थात, ६० हजार ३२० रुपैयाँ पाउने भएका छन् । प्रदेशका ६ जना मन्त्रीहरूको तलबमा वार्षिक पाँच लाख ९९ हजार रुपैयाँ व्यय थपिने भएको छ ।
