राजस्व र खर्चमा सरकार कमजोर

59

काठमाडौं, १ फागुन
मुलुकका आर्थिक परिसूचकहरु अनुकूल अवस्थामा भए पनि सरकारको खर्च गर्ने क्षमता बढ्न नसकेको देखिएको छ । पूर्ण बहुमतको बलियो सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा गरेको खर्चको तथ्यांकले विगतमा भन्दा फरक ढंगले काम गर्न नसकेको देखाएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटको मध्यावधि (असार–पुस) समीक्षा गर्दै बुधबार सार्वजनिक गरेका तथ्यांकले स्थिर र बलियो सरकार आएमात्र आर्थिक विकास हुन्छ भन्ने आम मानसिकता गलत सावित गरेको छ ।
सार्वजनिक भएका तथ्यांकअनुसार चालु आवमा समष्टिगत आर्थिक परिसूचकहरु मुलुकका लागि अनुकूल बनेका छन्।
राजस्व असुली र पुँजीगत खर्चमा मात्र सरकार विगतभन्दा फरक हुन सकेको छैन ।
सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गर्ने भनेकामा ६ महिनामा ४ खर्ब २२ अर्ब मात्र खर्च भएको छ । यो खर्च कुल बजेटको २७.६ प्रतिशत हो । सरकारले चालु खर्चमा ३२.४ प्रतिशत खर्च गरेको छ भने पुँजीगत खर्च १५.४ प्रतिशतमात्र छ । यी तथ्यांकहरु अघिल्ला वर्षहरुमा भन्दा तात्विक रुपमा फरक छैनन् ।
सरकारले लक्ष्यअनुसार राजस्व संकलन पनि गर्न सकेको छैन। चालु आवमा राजस्व वृद्धि १३.४ प्रतिशतमात्र छ । यो सरकारले राखेको लक्ष्यको आधा पनि होइन ।
विगतमा मुलुकको आर्थिक विकास नहुनुमा राजनीतिक अस्थिरता, बन्द हडताल, श्रम समस्या, अस्थिर सरकारलगायतलाई कारणका रुपमा लिने गरिएको थियो। मुलुकभित्र दुई वर्षयता यस्ता कुनै समस्या छैनन्। खर्च गर्न स्रोतको अभाव छ पनि भनिएको छैन तर पनि काम हुन सकेको देखिँदैन।
विगतमा एक वर्षे कार्यकाल भएका अस्थिर सरकारको काम र अहिलेको बलियो सरकारको काममा कुनै भिन्नता देखिएको छैन । अहिलेको तथ्यांकले मुलुकको आर्थिक विकासका लागि अर्को कुनै थप उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता देखाएको छ ।
अर्थमन्त्री खतिवडा तथ्यांकमा खेलेर अरुलाई बोल्न नदिने प्रवृत्तिका व्यक्ति हुन् । अर्थ मन्त्रालयको बागडोर सम्हाल्दा जारी गरेको तत्कालीन अर्थतन्त्रबारेको श्वेतपत्रमा पनि उनले तथ्यांकलाई आफू र आफ्नो पार्टीअनुरुप प्रयोग गरेका थिए ।
तर चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक कार्यक्रममा उनले सरकारले राम्रो काम गरेको छ भनेर खुलेर भन्न सकेनन् ।
आजको नागरिक दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here