बागलुङ, ४ माघ ।
मध्येपहाडी लोकमार्ग विस्तारको क्रममा मापदण्ड भित्र पर्ने बागलुङ रामरेखा–उपल्लाचौका जग्गाधनीले उचित मुअब्जको लागि कानुनी बाटो अप्नाउने निर्णय गरेका छन् ।
संघर्ष समितिका अध्यक्ष केवी राना मगरको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले मापदण्डको कारण पीडित नागरिकहरुको तर्फबाट न्यायिक उपचार प्रक्रिया अगाडी बढाउन बरिष्ठ वकिलहरुसँगको परामर्श पछि मुद्दा प्रक्रिया अगाडी बढाउन अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
न्यायिक प्रक्रिया अगाडी बढाउन रकम आवश्यक पर्ने भएकाले पत्येक जग्गाधनीबाट तत्काललाई प्रतिहात ३ सय का दरले उठाउने निर्णय गरिएको अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो ।
बैठकले सात सदस्यीय दवाव समूहमा ४ सदस्य थप गरी ११ सदस्यीय समिति विस्तार गरेको छ । समितिको सदस्यमा निर्माण कुमार श्रेष्ठ, बलबहादुर गौचन, अशोक श्रष्ेठ, हेमलाल पौडेल रहनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्ये पहाडी लोकमार्ग बागलुङ बजार क्षेत्रको रामरेखादेखि उपल्लाचौर (जिरो किलो मिटर) सम्मका जग्गाधनीले चलन चल्तीको रकम मुअब्ज दिनुपर्ने माग राख्दै आएका छन् ।
पुरानो १५ मिटर कायम रहेको भूमी सेरचन राजमार्गको पनि मुअब्ज पाएका छैनौ संघर्ष समितिका अध्यक्ष केवी राना मगरले भन्नुभयो–‘सडक विस्तार गर्नु पहिले पुरानो मुअब्ज दिए पछि मात्रा नयाँ सडकको मुअब्ज र निर्माणको काम सुरु गर्नुपर्छ ।’
रामरेखादेखि उपल्लाचौरका करिब एक सय परिवार संघर्ष समितिमा आबद्ध छन । ‘नयाँ मापदण्डले अधिकांस परिवारको उठिबास लगाउँछ’ अध्यक्ष रानाले भन्नुभयो– जनता मारेर सडक बनाउनु न्योचित हुँदैन । भूपिसेरचन राजमार्ग पीडितले अन्य ठाउँमा मुअब्जा पाए पनि बागलुङबासीले नपाएको रानाले बताउनुभयो ।
चलन चल्तीको मुअब्जा नपाए रामरेखा–उपल्लाचौरबासीको उठिबास हुन्छ’ उहाँले भन्नुभयो–‘सरकारले जबरजस्ती गरे कडा संघर्षमा उत्र्रन्छौँ ।’ प्रभावित क्षेत्रका स्थानीयको माग सम्बोधन नभए सडक निर्माण अवरुद्ध गर्ने सचिव भरत पुरीले चेतावनी दिनुभयो ।
१ हजार ७ सय ७६ किलोमिटर लामो पुष्पलाल मध्य पहाडी लोकमार्गको सबै भन्दा बढी १ सय ३७ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । सडकको मध्य भागबाट दाँया÷बाँया २५÷२५ मिटर सडक र ६ मिटर सेटव्याक गरी ३१ मिटर जग्गा छोडेर संरचना निमार्ण गर्नुपर्ने मापदण्ड रहेको आयोजनाले जनाएको छ ।
