
बल बहादुर रोका
बागलुङ, ३ माघ ।
सङ्कल्प सहकारी संस्था बागलुङले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।
बागलुुङ बजार स्थितसहकारी संस्थाले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुुनलाई १ लाख ५ हजार सहयोगको घोषणा गरेको हो ।

संस्थाको आठौँ वार्षिकोत्सवको अवसरमा बोल्दै संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाले सहकारीको कारोबार बचत र ऋणमा मात्र सिमित नगरी सवै क्षेत्रमा फाइदा पुुग्ने ठाउँमा लगानी गर्ने बताउनुभयो ।
घोषित रकम आविष्कार केन्द्रमै पुगेर हस्तान्तरण गरिने बताइएको छ । अध्यक्ष थापाले राष्ट्रिय आविष्कार केन्द्र नेपालको तत्कालिन आवश्यकता भएको निष्कर्षका साथ सहकारीले सहयोगको घोषणा गरेको बताउनुभयो ।

संस्थाले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फरकफरक रुपमा कार्यक्रम संचालन गर्दै आएको कोषाध्यक्ष जिवन काउचाले बताउनुभयो । कार्यक्रममा संस्थाका प्रवन्धक हिरा काउचाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम सङकल्प सहकारी बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षता, लेखा समितिका सदस्य शर्मिला रोकाको स्वागत र सचिव रेशमबहादुर आलेको सञ्चालनमा सम्पन्न भएको थियो ।
