बागलुङमा औद्योगिक ग्राम स्थापना हुने

उद्योग ग्रामको लागि छनोट भएको बागलुङ नगरपालिकाको कालाखोला क्षेत्र । तस्विरः चन्द्रप्रकाश शर्मा

बागलुङ, २ माघ ।
व्यवस्थित पूर्वाधारको अभावमा पलायन हुँदै गएको बागलुङको उद्योग व्यवसायलाई व्यवस्थित गर्न उद्योग ग्राम स्थापना हुने भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको त्रिपक्षीय साझेदारीमा बागलुङका दुई ठाउँमा उद्योग ग्राम स्थापना हुने भएका हुन् ।
संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग ग्राम स्थापनाकालागि देशभरका ३२ वटा स्थानीय तहसँग सम्झोता गरिसकेको छ । देशभरका ३२ स्थानीय तह मध्य बागलुङका बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकासँग मन्त्रालयले उद्योग ग्राम स्थापनाका लागि सम्झौता गरिसकेको छ ।

उद्योग ग्रामको लागि छनोट भएको बागलुङ नगरपालिकाको कालाखोला क्षेत्र । तस्विरः चन्द्रप्रकाश शर्मा

उद्योग ग्राम स्थापनाका लागि संघीय सरकारबाट ९२/९२ लाख प्राप्त गरेका बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकाले उक्त बजेटलाई जग्गा विकास, मुख्य सडक, सहायक सडक, पैदल मार्ग, विद्युत प्रशारण लाइन, सञ्चार सुविधा, सडक बत्ति, बैकल्पिक उर्जाको प्रबन्ध, गोदाम घर निर्माण, खानेपानी, ढल निकास, फोहोर प्रशोधनका काम गर्नुपर्नेछ ।
औद्योगिक ग्राम स्थापनाको लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ बिगा जमिन हुनुपर्ने प्रावधान रहेको छ । मानव बस्ती भन्दा दुई सय मिटर टाढा औद्योगिक ग्राममा प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बनाउनु पर्नेछ ।
आद्योगिक ग्राम स्थापनाको लागि बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका वडा नं. १३ मा रहेको कालाखोला बगरमा ८५ रोपनी जग्गा र ताराखोला गाउँपालिकाले वडा नम्बर–१ भुस्कातमा ९० रोपनी जग्गा छनौट गरेको छ । मन्त्रालयसँग सम्झौता गरेको १५ दिनभित्र डिपिआरको प्रारम्भिक अध्ययन गरी ३ महिना भित्रमा सम्पन्न गरी सोको स्वीकृत प्रतिवेदनको एकप्रति मन्त्रालयमा पेश गर्नुपर्ने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिनुभयो ।

उद्योग ग्रामको लागि छनोट भएको बागलुङ नगरपालिकाको कालाखोला क्षेत्र । तस्विरः चन्द्रप्रकाश शर्मा

औद्योगिक क्षेत्र निमार्णको काम तत्काल सुरु गर्ने नगर प्रमुख जनकराज पौडेलको भनाई छ । बागलुङ नगरपालिकाले व्यवस्थित उद्योग ग्राम स्थापना गर्ने योजना सफल भएको नगरप्रमुख पौडेलले बताउनुभयो । ‘हामीले पहिलेदेखिनै उद्योग ग्रामका लागि योजना बनाएका थियौं, अब तीन तहका सरकारको समन्वयमा उद्योग ग्राम स्थापना हुन्छ, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको संगम स्थलको रुपमा रहेको बागलुङलाई औद्योगिक क्षेत्रको रुपमा परिचित बनाउँन ठूलो योगदान पु¥याउँनेछ ।’ पौडेलले भन्नुभयो । बागलुङ बजार उद्योग र व्यवसायको क्षेत्रमा वर्षौ पहिलेदेखि चर्चामा रहेपनि उद्योग स्थापना गर्ने ठाउँको अभाव, यहाँको अन्य पूर्वाधार निर्माणलगायतले उद्योग, व्यवसायबाट पलायन हुने व्यवसायीहरुलाई उद्योग ग्राम स्थापनाले थप मद्धत पुग्ने नगरप्रमुख पौडेलको दावी छ । बागलुङ नगरपालिकाले छनोट गरेको जग्गा कालीगण्डकी करिडोरले छोएको र बागलुङ बजार नजिकै भएकालेपनि उद्योग ग्राम व्यवस्थापनमा सहज हुने नगरपालिकाले जनाएको छ ।
ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उद्योग ग्राम स्थापनाले यहाँको उत्पादन र उद्यमशिलतालाई ठूलो राहत पुग्ने बताउनुभयो । ‘हामीले उद्योग ग्रामका लागि जग्गा छनोट गरेका छौं, अब त्यहाँको भौतिक पूर्वाधार निर्माण गरेर उद्योग व्यवसाय गर्न इच्छुकहरुलाई सहजीकरण गर्नेछौं ।’
गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले देशभरका ३२ वटा स्थानीय तह मध्य गण्डकी प्रदेशका ११ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाका लागि संघीय सरकारबाट बजेट प्राप्त भएकाले ति स्थानीय तहलाई प्रदेश सरकारबाट समेत बजेट व्यवस्था हुने बताउनुभयो ।
‘हामीले तिनै तहका सरकारबीच सहकार्यमा उद्योग ग्राम स्थापना गर्ने नीति बनाएका हौं, संघीय सरकारले हरेक स्थानीय तहलाई ९२/९२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ, गण्डकी प्रदेश सरकारले यही प्रयोजनका लाग ८ करोड रुपियाँ विनियोजन गरेकाले छनोटमा परेको उद्योग ग्रामको पूर्वाधार निर्माणमा लगानी गर्नेछौं ।’ लम्सालले भन्नुभयो ।
लम्सालका अनुसार गण्डकी प्रदेशका बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका (बागलुङ), विहादी गाउँपालिका (पर्वत), वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा), राईनास नगरपालिका (लमजुङ), सिरानचोक गाउँपालिका, शहिद लखन गाउँपालिका (गोरखा), ऋषिङ गाउँपालिका, आवुँखैरेनी गाउँपालिका (तनहुँ)मा औद्योगिक ग्राम स्थापना हुनेछन् ।

२०७६ माघ २ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here