
बागलुङ, ८ पुस ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणधिन आधुनिक बसपार्कको पचास प्रतिशत भौतिक प्रगति भएको छ ।
गत २०७५ फाल्गुन १५ गतेदेखि निर्माण कार्य थालिएको बसपार्कमा टर्मिनल भवन निर्माण तथा बसपार्क मैदान फराकिलो बनाउने काम सकिएको छ भने व्यवसायिक भवन (¥याफ् फाउन्डेन) को काम सम्पन्न भएको इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

बसपार्कको मुख्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बसपार्क भित्र मुख्य टर्मिनल भवन, १८ सटर सहितको व्यवसायिक भवन, ३५ मिटर चौडार र ९८ मिटर लम्बाईको बस पार्किङ्ग स्थल, सवारी मर्मत केन्द्र ९वर्क सप० दुई वटा कार्ड कक्ष, फोहार संकलन केन्द्र निर्माण हुने छ । बाँकी रहेको जग्गालाई हरियाली पार्कको रुपमा विकास गर्ने लक्ष्य छ ।
बसपार्क निर्माणको काम डिजाईन अन्यौलताको कारण गत असारदेखि तीन महिना अबरुद्ध भए पनि नक्सा पुनःतयार गरी असोजदेखि निर्माण थालिएको इन्जिनियर शर्माको भनाई छ । बसपार्कको पुन नक्साङ्कन गर्दा एक करोड १३ लाख रुपैयाँ लागत थप भएको छ ।

‘बसपार्कको ५० प्रतिशत काम सम्पन्न भएको छ’ ठेकेदार कम्पनीका इन्जिनियर प्रकाश तिमिल्सीनाले भन्नुभयो–‘सम्झौता अनुसार नै तोकिएको मितिमा निर्माण कार्य सकिन्छ ।’ सम्झौता बमोजिम २०७७ बैशाख २५ गते निर्माण कार्य सकिनु पर्छ ।
बागलुङ नगरपालिकाले २०७४ फागुन २५ गते बस पार्क निर्माण गर्न नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । वि।स २०५८ सालदेखि बसपार्क निर्माणको लागि उपल्लाचौरमा स्थानीयले जग्गा उपलब्ध गराउने काम सुरु गरे पछि २३ माघ २०७१ सालमा जग्गा पास भएको थियो ।

वि।स २०७५ कात्र्तिक २६ गते आशिष फेवा जेवीले निर्माण कार्यको ठेक्का पाएको थियो । सात करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको छ । फेरिएको डिजाईन अनुसार बसपार्क निर्माणको लागत ८ करोड ७९ लाख ९९ हजार पुगेको छ । नगर विकास कोषको ९० प्रतिशत, नेपाल सरकारको ७ प्रतिशत र नगरपालिकाको साढे २ प्रतिशत लगानी रहेको छ ।
कम्पनीले बसपार्कसहित टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङसमेत बनाउनेछ । ५१ जना जग्गाधनीले निःशुल्क ५९ रोपनी जमिन उपलब्ध गराएपछि बसपार्क निर्माणको काम थालिएको हो । बसको पार्किङ, टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्याक १७ रोपनीमा बन्ने निर्माण समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

जग्गा धनीसँगको सम्झौता बमोजिम बसपार्क निर्माण हुने १७ रोपनी बाहेकको अन्य जग्गा जग्गाधनीलाई फिर्ता गरिने छ । जग्गादाताका लागि कम्तीमा दुई आनादेखि पाँच आनासम्मका १२७ वटा घडेरी बनाइनेछ । १७ रोपनी क्षेत्रफलमा बसपार्क निर्माणको काम सुरु भए पनि जग्गा फिर्ताको विषयमा भने कुनै प्रगति भएको छैन ।
‘बसपार्क निर्माणको लागि विगत १८ वर्षदेखि जग्गा बाँझो राखियो अहिलेसम्म फिर्ता भएको छैन’ जग्गाधनी खडक जिसीले भन्नुभयो– ‘सम्झौता बमोजिम जग्गा फिर्ता नहुँदा दुःख लागेको छ । जग्गा फिर्ताको काम तत्काल सुरु गर्न जग्गाधनीहरुको माग रहेको छ । फिर्ता गर्ने जग्गामा बसपार्क मैदानको माटो थुपारिएको छ ।

‘सम्झौता बमोजिमको काम नहुँदा धेरै समस्या भएको छ’ बानपा–४ का वडाध्यक्ष धुर्वबहादुर केसीले भन्नुभयो–‘नगरपालिकाले तत्काल आफ्नो जिम्मेवारीको काम गर्नुपर्छ ।’ पुरानो नक्सा बमोजिम जग्गाको कित्ताकाट र बाटोको चौडाई मिल्ने हुँदा पुनः नक्साङ्कन गर्नुपर्ने अध्यक्ष केसीको भनाई छ ।
बसपार्क निर्माण स्थलको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले मंगलबार स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमन पछि मेयर पौडेलले जग्गा फिर्ताको विषयमा प्राविधिक टोलि निर्माण गरेर तत्काल समस्या समाधान गर्ने बताउनुभयो ।
