
नवीन शिशिर
बागलुङ, ७ पुस ।
बागलुङ बजारवासीलाई सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु भएको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको संरचना धमाधम निर्माण भैरहको छ ।
दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको आयोजना अन्तर्गत काठेखोलामा पाँच वटा सम्पवयल ट्याक्की, पानी छान्ने ट्याकी र रात्माटामा पानी जम्मा गर्ने (रिजर्भ ट्याक्की निर्माणको काम तिव्र गतिका साथ भएको निर्माण भैरहेको हो ।

आयोजना निर्माणको लागि वि.स २०७५ असार ३१ गते ठेकेदार कम्पनी ‘कन्काइ जयमाता जेभी’ सँग सम्झौता भएको थियो । सम्झौता अनुसार आगमी २०७७ साल असार ३१ गते आयोजना निर्माण कार्य सम्पन्न हुनुपर्ने छ ।
गत असार÷साउनमा आएको बाढीले तीन वटा सम्पवयल पुर्ने तथा अन्य महत्वपूर्ण निर्माण सामाग्री बगाए पछि निर्माण कार्यमा केही ढिलाई भएको आयोजनाको साईड ईन्जिनियर केदार पाण्डेले जानकारी दिए ।
‘तोकिएको मिति भन्दा दुई÷तीन महिना ढिला गरी आयोजना सम्पन्न हुन सक्छ’ इन्जिनियर पाण्डेले भने–‘अहिले भौतिक संरचना निर्माणको काम तिव्र गतिका साथ काम भैरहेको छ । बाढीले बगाएको दुई वटा सम्पवयल भेटिएर थप निर्माण गरे पनि एक वटा अझै फेला परेको छैन ।

बढीले महत्वपूर्ण सामाग्री बगाउँदा एक करोड बराबरको क्षति भएको ईन्जिनियर पाण्डेको भनाई छ । नेपाल सरकारको ७३ र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २७ प्रतिशत आर्थिक योगदान रहेको आयोजना निर्माण गर्न ३० करोड २६ लाख ५९ हजार ९९५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
अहिले प्रशोधन इकाईहरु टंकी, प्रसारण तथा वितरण लाईन संरचना निर्माणको काम तिव्रताका साथ भैरहेको ईन्जिनियर पाण्डेले बताए । उनका भौतिक संरचना निर्माण पश्चात इलेक्ट्रोमेकानिकल वक्र्सको काम सुरु हुने छ ।

हालसम्म ४ वटा सम्पवयल ट्याङकी, ५ सय र २ सय घना मिटरका दुई वटा रिजर्भ ट्याङकी, ७२ मिटरको सोलोस्यान्ड फिल्डर प्रोटेक्सन (पानी शुद्धिकरण इकाई सुरक्षा) को लागि बाहिरी रिटेनिङ्गवाल र काठेखोलामा ग्याविन वालको काम अन्तिम चरणमा पुगेको छ ।
खोलामा पुरिएको एउटा र सोलोस्यान्ड फिल्टर नजिकका दुई वटा गरी तीन वटा सम्पवयल तथा भित्रि रिटेनिङ्गवाल निर्माणको काम बाँकी रहेको छ । पाईप तथा ईलेक्टेनिक्स सामाग्री निर्माण स्थलमा आएको हुँदा आगमी असारसम्म पुरानै वितरण प्रणाली मार्फत काठेखोलाको पानी वितरण गर्न सकिने ईन्जिनियर पाण्डेको भनाई छ ।

आगमी असारसम्म पूर्ण संरचना नबने पनि पिउने बाहेकका अन्य घरायसी प्रयोजन हुने पानी वितरण गर्ने लक्ष्यका साथ काम भैरहेको छ । आयोजनाको पूर्ण संरचना बने पछि शुद्ध पानी वितरण हुने छ ।
उक्त आयोजनाबाट नगर क्षेत्रका ६० हजार उपभोक्ता लाभान्वित हुने बागलुङ नगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । काठेखोलाको पानी ‘लिफ्ट’ प्रविधिबाट तानेर बागलुङ नगरपालिका–३ रातामाटा पु¥याइनेछ । काठेखोलादेखि सात सय मिटरमाथि रातामाटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण गरिनेछ ।
कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको पानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । आयोजनाबाट बागलुङ नगरपालिकाका– १, २, ३ र ४ का उपभोक्ता लाभान्वित हुनेछन् । बजार क्षेत्र बाहेकका गहते, बोक्से, सुल्डाँडा, रातामाटालगायतका थप नौ सय घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ । हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घुरधुरी लाभान्वित भएका छन् ।
