
बागलुङ, ३ पुस ।
बागलुङ सदरमुकाम स्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैक बागलुङले आर्थिक सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद २० हजार रुपैयाँ प्रदान गरेको हो ।
सामुदायिक विद्यालयमा संचालित बालविकास केन्द्रमा आउने बालबालिकालाई आवश्यक सामाग्री खरिदको लागि प्रदान गरिएको नगद सिद्धार्थ बैक बागलुङ शाखाका शाखा प्रमुख सुजित भारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासराज भण्डारी र प्रधानध्यापक शान्तमणी ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयको शिक्षाको महत्वपूर्ण आधार बालकक्षाको गुणस्तर सुधारले मात्रा शिक्षाको समग्र विकासमा सहयोग पुग्ने निष्कर्ष सहित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालविकास केन्द्रको सुधारमा संगठित भएर काम गर्दै आएका छन् ।
जिल्ला सदरमुकाममा बसोवास गदै आएका मजदूर, ठेला व्यापारी, मुस्लिम अभिभावकका अधिकांश विद्यार्थीले अध्ययन गर्ने केन्द्रमा निःशुल्क खाजा वितरण हुन थालेपछि विपन्न विद्यार्थीको आकर्षण बढ्दै छ ।
जिल्ला सदरमुकाममा रहेका महङ्गा मन्टेश्वरी तथा बोर्डिङ स्कुलमा पठाउन नसक्ने अभिभावक आफ्ना छोराछोरीलाई निःशुल्क खाजा सहितको शिक्षा प्रदान गर्न थाले पछि सामुदायिक विद्यालयमा आकर्षित भएको पूर्व विद्यार्थी तथा बालकक्षा सुधारका अभियान्त मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
‘विपन्न परिवारका छोराछोरी जसले खाजा ल्याएर विद्यालय आउन सक्दैनन् उनैलाई लक्षित गरी निःशुल्क खाजा अभियान ल्याएका हौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले भन्नुभयो “भोको पेटमा अध्ययन गर्दा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिँदैन भन्ने सोचका साथ निःशुल्क खाजा अभियान शुरु गरेका हौँ ।”
विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा ख्याति प्राप्त पूर्व विद्यार्थी तथा शिक्षा प्रेमीबाट सहयोग सङ्कलन गरी निःशुल्क खाजा वितरण गदै आएको राजभण्डारीले बताउनुभयो ।
बालविकास केन्द्रमा अध्ययनरत् २५ विद्यार्थीलाई दिनको एक पटक घरेलु खाजा प्रदान गरिँदै आएको छ । खाजा वितरणको एक हप्ते सूचीनै तयार पारीे अण्डा, चना, दूध र लिटो मिलाएर खुवाउने गरेको केन्द्रले बताएको छ । सामुदायिक विद्यालयले गरिव विपन्न परिवारका बालबालिक प्रति गरेको सहयोग र लगानीमा बैंकले भविष्यमा थप सहयोग गर्ने शाखा प्रमुख भारीले प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका उपसभापति राजेन्द्र आचार्य, शिक्षक छविरमण रेग्मी लगायतले बोल्नुभएको थियो । प्रधानध्यापक शान्तमणी ढकालले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक शिव पौडेलले गर्नुभएको थियो ।
