
बागलुङ, २ मंसिर ।
बागलुङ नगरपालिका बागलुङले नगर क्षेत्रका गरिव विपन्न परिवारको खरको छानो हटाउन सुरु गरेको छ ।
नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरी खरको छानो हुने विपन्न परिवारलाई छानो फर्नको लागि जस्ता पाता वितरण गरेको हो । नगर क्षेत्रका १६४ घर मध्ये पहिलो चरणमा ४० परिवारलाई जस्ता पाता वितरण गर्न थालेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
गरिबसँग ऋषिराम कार्यक्रम अन्तर्गत जनता सुरक्षित आवासका लागि पहिलो चरणमा सोमबार ४० परिवारलाई घरको छानो छाउन पुग्ने आवश्यकता अनुसार रंगीन जस्ता पाता वितरण गरिएको थियो ।
नगरपालिकाले पहिलो चरणमा बानपा–३ का २, वडा ५ का ३, वडा ४ को १, वडा ७ को ४, ८ को ५, ९ को ५, १० को ६, ११ को ६, वडा १२ को ४, १४ को १, ७ को १ र वडा ११ को १ परिवारलाई जस्ता वितरण गरिएको छ ।
सबै परिवारलाई २६ गेजको रंगीत पाता प्रदान गरिएको थियो । जस्ता वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख जनकराज पौडेलले गरिवलाई सरकारको महशुस गराउनुका साथै सुरक्षित आवासको लागि सरकार चिन्तीत रहेको बताउनुभयो ।
हामी गरिव जनताको आवास सुरक्षित र जीवन सुरक्षित गर्ने विषयमा गम्भिर छौँ उहाँले भन्नुभयो–नगर क्षेत्रमा कुनै पनि गरिव परिवार चुहिने छानो मुनी बस्नु पर्दैन ।’ जस्ता पाता बुझे पछि हर्षित हुँदै बानपा–३ की छलि बोहराले जनप्रतिनिधिको पहलले चुहिने छानो टाल्ने मौका मिलेको बताउनुभयो ।
‘हामी गरिवले घरको छानो रंगिन टिनले छाउने सपना मात्रा थियो’ उहाँले भन्नुभयो– अब त वर्षाेदेखिको सपना पुराभयो, चुहिने छानोबाट मुक्त हुनभयौँ । जस्ता पाता बुझेको दुई महिना भित्र छानो छाउनु पर्ने बताइएको छ ।
