
बागलुङ, ४ असोज ।
बागलुङ नगरपालिका वडा नम्बर ४ तल्लो पाखाथरमा पम्पिङ प्रविधि मार्फत घर, घरमा खानेपानीको धारा जडान गरिएको छ ।
बागलुङ नगरपालिकाको सहयोगमा राँईला खोपानी तथा सरसफाई समितिले पाखाथरका ४४ घर परिवालाई एक घर एक धारा अनुसार ४४ ओटा धारा निर्माण गरी खानेपानी वितरण गरिएको हो ।
३ सय २० मिटरको उचाईमा पम्पिङ प्रविधिको प्रयोग गरी पानी संकलन गरी विरतण गरिएको उपभोक्ता समितिका अध्यक्ष बासुदेव उपाध्यायले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/०७५ को जेठ २५ गतेदेखि सुरु भएको आयोजनाको पहिलो र दोस्रो चरण गरी आर्थिक वर्ष २०७५/०७६ को साउन महिनाको ५ गते सम्पन्न भएको थियो ।
३१ लख ८१ हजार ९१ लाख रुपैयाँमा निर्माण भएको खानेपानी योजनाको लागि बागलुङ नगरपालिका मार्फत आर्थिक वर्ष २०७४/०७५ मा १३ लाख ७२ हजार रुपैयाँ र आ.व. २०७५/०७६ मा ७ लाख गरी १४ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै योजना सम्पन्न गर्न उपभोक्ताहरुले आ.व. २०७४÷/७५ मा ४ लाख ६० हजार र आ.व. ०७५/०७६ मा ३ लाख ५२ हजार गरी ८ लाख १२ हजार रुपैयाँ, सदस्यता शुल्क ९३ हजार, टोल विकास समितिबाट १ लाख ४ हजार र ५ लाखको जनश्रमदान भएको उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष उपाध्यायले योजनाको निर्माण सम्पन्न भए पनि अझै १ लाख ९१ रुपैयाँ ऋणमा रहेको बताए ।
उक्त खानेपानी योजनाको शनिबार नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गरेका छन् । पाखाथरमा पानीको स्रोत भएता पनि कसैलाई सहज र कसैलाई खानेपानीको जोहो गर्न दैनिक १ घण्टा लाग्ने भएका कारण पम्पिङ प्रविधि प्रयोग गरेर एक घर एक धारा निर्माण गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए ।
उनले जनताको जनश्रमदान र लगानी कै कारण समयमै खानेपानी योजना सम्पन्न भएको नगरप्रमुख पौडेलले जानकारी दिए । उनले समृद्ध नगर निर्माणको लागि नगरपालिकालाई जनताको आवश्यकता पर्ने बताए । नगरप्रमुख पौडेलले नगरपालिकाको योजनामा जनताको लगानी र श्रमदान भएमा समयमै योजना सम्पन्न गरी समृद्ध नगर निर्माण हुने विश्वास व्यक्त गरे ।
पहिले पाखाथरमा बासन्दाहरुले दैनिक १ घण्टा लाइनमा बसेर खानेपानीको जोहो गर्ने गरेको उपभोक्ता हरिनारायण उपाध्यायले जानकारी दिए । ‘पहिलो हामीले दैनिक १ घण्टा धारामा लाइन लागेर खानेपानीको जोहो गर्नुपर्ने समस्या थियो’, उपभोक्ता उपाध्यायले भने–‘नगरपालिकाको योजना र उपभोक्ताको सहयोगमा अहिले घरमै पानी आउँदै खुसी हर्षित छौं ।’
उपभोक्ता समितिले मासिक १५ हजार लिटर पानी प्रयोग गरेमा ३ सय रुपैयाँ शुल्क लिने बताएको छ । समितिले खानेपानीको लागि कोषको निर्माण गरी उक्त शुल्क घटाउँदै लैजाने जानाएको छ ।
