
बागलुङ, साउन १४ ।
बागलुङ जिल्ला ट्राफिक कार्यालयले ५७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक नियम उल्लंघन गरेका ९ हजार ४४५ सवारी साधनलाई जरीवाना गर्दा ५७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक कार्यालयका प्रहरी नायव निरिक्षक महेन्द्र रानाभाटले जानकारी दिए ।
कार्यालयले आर्थिक वर्ष २०७५/०७६ को असार महीनामा सबैभन्दा बढी १ हजार १९५ सवारी साधनलाई कारबाही गरी ७ लाख ३२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छभने सबैभन्दा कम साउन महीनामा ५१६ सवारी कारबाहीबाट ३ लाख २६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले आव २०७४/७५ मा ७ हजार ८२४ सवारी कारबाहीबाट ५१ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने आव २०७३/७४ मा ८ हजार ४२१ सवारी कारबाहीबाट ५१ लाख १० हजार ५०० राजस्व संकलन गरेको थियो ।
यस्तै जिल्लामा सवारी दुुर्घटना न्यूनिकरणका लागि भएका प्रयासहरु प्रभावकारी बन्दै गएको देखिएको छ । सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक कार्यालयले जनचेतनामूलक कार्यक्रमहरु गरेपछि बागलुङमा अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष सवारी दुर्घटनामा कमी आएको ट्राफिक कार्यालयका प्रमुख रानाभाटले जानकारी दिए ।
बागलुङमा आव २०७५/०७६ मा २५ सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो भने आव २०७४/०७५ मा २७ सवारी दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको थियो । ट्राफिक नियमलाई कडाइ गरेपछि दुर्घटनामा कमी आएको ट्राफिक प्रमुख रानाभाटको भनाइ छ ।
