भीमापोखरामा साढे तीन करोडका योजना

बागलुङ, २९ असार ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराले आर्थिक वर्ष २०७५/०७६ मा साढे तीन करोड रुपैयाँको योजना सम्पन्न गरेको छ ।
वडा कार्यालयले संघ, प्रदेश र गाउँपालिकाबाट प्राप्त बजेट मार्फत मुख्य मुख्य बाह्र योजनाको लागि तीन करोड ५८ लाख ९२ हजार ९७२ रुपैयाँ खर्च गरेको हो ।


वडा कार्यालयले सबै भन्दा धेरै बजेट वडा भित्रको सडक स्तरवृद्धिमा खर्च गरेको छ । वडाध्यक्ष विद्यापति शर्माका अनुसार संघ, प्रदेश र गाउँपालिकाको लगानीमा सडक स्तरवृद्धि, संरचना निर्माण तथा फराकिलो बनाउन २ करोड २३ लाख ८९ हजार ७९० रुपैयाँ लगानी भएको छ ।
भीमापोखराको अक्षतेदेखि निरलपाटा घुम्टी हुँदै सलामसम्म सलामचोकदेखि नागलढुङ्गा, धारथोक हुँदै वडा कार्यालय जोड्ने सडक यस वर्ष पनि मर्मत तथा नाली निर्माण, ग्याविन पर्खाल लगाउने काम भएको छ । गाउँपालिकाको सहयोगमा साठीमुरेदेखि सिम काप्रेसम्मको सडकको स्तरवृद्धिको काम सम्पन्न भएको वडाध्यक्ष शर्माको भनाई छ ।


वडा कार्यालयले खानेपानी तर्फ २७ लाख ८१ ह्जार १८९, शिक्षामा ६३ लाख ५० हजार, कृषि प्रवद्र्धन कार्यक्रम आलु, सुन्तला, मिनिटेलर हलो वितरणको लागि ४ लाख १० हजार, पर्यटन विकास अन्तर्गत सिम गहते र सिरसिरे भीमादरबार पदमार्ग निर्माणमा १३ लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष शर्माको भनाई छ ।
वडा कार्यालयले चालु आर्थिक वर्षमा वडाभित्र सम्पन्न योजनाको विषयमा शनिबार सार्वजनिक सुनुवाई गरेर आफ्ना काम र खर्चको बारेमा स्थानीयलाई जानकारी दिएको छ ।


कार्यक्रममा बोल्ने वक्ताहरुले सडकसँगै आर्थिक तथा कृषी उत्पादनसँग जोडिने विषयलाई प्रथामिकता दिएर आगमी कार्यक्रम तथा बजेट तयार गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले विकास र समृद्धिको यात्रामा सबैको सहयोग र सहकार्यको आवश्यकता औल्याउनुभयो । राजनीतिक आस्था र विचारको आधारमा पूर्वाग्राही नभई साँझा उद्देश्य प्राप्तीको लागि सबैको साथ र सहयोगले अगाडी बढन सकिने उहाँको भनाई थियो ।
‘सबै काममा राज्यको मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ अध्यक्ष थापाले भन्नुभयो–‘सरकारले आफ्नो कर्तव्यपालन गर्न नागरिक दायित्वबाट पन्छिनु हुँदैन ।’


कार्यक्रममा उठेका सवालको जवाफ गाउँपालिका अध्यक्ष अमरबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, वडाध्यक्ष विद्यापति शर्मा, राजश्व शाखा प्रमुख काँसीराम पौडेल दिनुभएको थियो ।
भीमापोखराको पर्यटन विकास, शिक्षा क्षेत्रमा लगानीको बृद्धि, वडा भित्र रहेको गुठी जग्गाको खोजी तथा संरक्षणको लागि सहभागीले सुझाव दिएका थिए । कार्यक्रमको सहजिकरण पत्रकार महासंघका बागलुङका अध्यक्ष दिल शिरीषले गर्नूभएको थियो । कार्यक्रममा सहभागीलाई वडा कार्यालयका कर्मचारी सूर्य थापाले गर्नूभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here