
बागलुङ, १८ असार ।
गल्कोट नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ६४ करोड ६२ लाख ८९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको पाँचौ नगरसभामा नगर उपप्रमुख रेनुका काउचाले प्रस्तुत गरेको बजेटमा खर्च तर्फ कुल बजेटबाट सामाजिक सुरक्षा सहित १९ करोड ८३ लाख ५० हजार, चालु खर्चमा १८ करोड ३९ लाख ५७ हजार र सशसर्त अनुदान तर्फ संघिय सरकारबाट २४ करोड ९५ लाख र शशर्त अनुदान प्रदेशबाट ९० लाख बिनियोजन गरिएको छ ।
यस्तै नगरपालिकाले पुर्बाधार बिकास तर्फ नगरपालिकाको जग्गा ब्यबस्थापनको लागि २ करोड, गलकोट कोतमैदान संरक्षण तथा प्रबर्धन तथा आधारभुत पुर्बाधर निर्माणको लागि ५० लाख, सुरक्षित आबास ब्यबस्थापनको लागि ६५ लाख, पाण्डबखानी–रमुबा मोटरबाटो स्तरउन्नती गर्नको लागि ६० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । यस्तै गलकोट नगरपालिका बडा नम्बर ४ र ६ को वडा कार्यालय निर्माणको लागि २५÷२५ लाख रुपैयाँ विनियोजित गरेको छ । नगरपालिकाले नगरप्रमुख दैवीप्रकोप उद्धार राहत कोषको लागि ५० लाख र सेवा परामर्श तथा डि.पि.आरका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
गलकोट नगरपालिका क्षेत्रमा रहेका दलित तथा पिछडिएको जातजातिहरुको परम्परागत पेशाको सुनिश्चितता गरि तिनीहरुको सिप तथा क्षमता विकास गर्नका लागि २५ लाख विनियोजन गरिएको छ । नगरपालिकाले समाजिक बिकास तर्फ आर्थिक वर्ष २०७५/०७६ मा सुरुवात गरेको नगरप्रमुख मातृशिशु तथा पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिई १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले संघ प्रदेश र अन्य संघसस्था साझेदारीमा बिकास निर्माण गर्न समपुरक कोषमा १ करोड, प्रत्येक वडामा बिषयगत रुपले बिनियोजन हुने गरि ८ करोड ६३ लाख ८६ हजार बजेट बिनियोजन गरेका छ ।
नगरपालिकाले आय तर्फ आन्तरिक तर्फ कर तथा राजश्वबाट ३ करोड ३० लाख, बाह्य तर्फ नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान ११ करोड ६२ लाख, गण्डकी प्रदेशबाट अनुदान १ करोड २३ लाख ३१ हजार, संघबाट राजश्व बाँडफाँडमा ९ करोड ६३ लाख, गण्डकी प्रदेशबाट ४९ लाख ५८ हजार र आन्तरीक आम्दानीमा गत बर्षको मौज्दात ३ करोड ८० लाख अनुमान गरिएको छ ।
पाँचौ नगरसभाले नगरप्रमुख भरत शर्मा गैरेले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट, नगर प्रहरी ऐन २०७६, आर्थिक ऐन २०७६, बिनियोजन ऐन २०७६, नगर शिक्षा ऐन २०७६ पारित गरिएको छ ।
