काठेखोलाको नीति तथा कार्यक्रमः सडक कालोपत्रेदेखि– विद्यार्थी:शिक्षक अनुपात मिलान

नवीन शिशिर
बागलुङ, १० असार ।
बागलुङको काठेखोला गाउँपालिकाले आगमी आर्थिक वर्षमा गाउँपालिका–वडा कार्यालय जोड्न सडकको स्तरोन्नती तथा कृषी उत्पादनको ब्लक निर्माणलाई प्राथमिकता दिएको छ ।
आगमी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडक स्तरोन्नती गर्दै ग्रावेल, ढलान र कालोपत्रे गरिने उल्लेख गरिएको छ ।
सडक तर्फ डुडियाँघाट र सिलीखेतमा मोटरेवल पुल निर्माणका लागि संघ र प्रदेश सरकारसंग समन्वय गर्ने, प्राविधिक सल्लाह बिना मेशीनको माध्यमबाट सडक निर्माण गर्दा वातावरणमा प्रतिकुल असर पर्ने भएकोले गाउँपालिकाले अबलम्बन गरेको मार्गदर्शन कार्यान्वयनलाई कडाई गर्ने उल्लेख गरिएको छ ।


नागरिकलाई स्वच्छ खानेपानी घरमै उपलब्ध गराउने उद्देश्यका साथ “एक घर, एक धारा”को नीति अवलम्वन गरिएको अध्यक्ष थापाको भनाई छ । मुल तथा मुहान मर्मत, ट्याङ्की मर्मत, पाईप बितरण लगायतका कार्यलाई पनि निरन्तरता उल्लेख गरिएको । गाउँपालिकाले प्रत्येक वार्डहरुमा आहाल तथा पोखरी निर्माण, पानीका मुल तथा श्रोतहरुको संरक्षण एवम संरक्षणमा सहयोग पुराउने खालका कार्यक्रम कार्यन्वयनमा बिशेषजोड दिएको छ ।
अध्यक्ष थापाका अनुसार बिद्यालय एकीकरण गर्ने तथा तल्लो कक्षा वा माथिल्लो कक्षा घटाउने, शिक्षक तथा बिद्यार्थीको अनुपात सम्बन्धी राष्ट्रिय नीतिको समिक्षा गरी एक शिक्षक बराबर ३० बिद्यार्थीको अनुपात कायम गर्ने, प्रधानाध्यापकसंग कार्य सम्पादन करार सम्झौता गर्ने तथा उत्कृष्ट शिक्षक चयन गरी पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम तयार गरिएको छ ।
सामुदायिक बिद्यालय प्रति आकर्षण बढाउन अंग्रेजी माध्यमको पढाईलाई अझै थप ब्यवस्थित गरि सञ्चालन उल्लेख छ ।
गाउँपालिका भित्रका प्रत्येक स्वास्थ्य चौकी, स्वास्थ्य ईकाई र आयुर्वेद शाखामा तत्काल थेरापी सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । दुई वटा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गर्ने बताइएको छ ।


खेलकुद तर्फ गाउँपालिकाले ‘गाउँपालिका स्तरीय अध्यक्ष कप प्रत्योगिता संचालन’ भएको छ । बिभिन्न चाड पर्वहरुमा हुने मेला महोत्सवका कार्यक्रमलाई ब्यवस्थित गर्न एक वार्ड एक मेला को निती कार्यान्वयनमा लैजाने अध्यक्ष थापाले बताए ।
कृषितर्फ एक टोल, एक ब्लक को अवधारणालाई आत्मसाथ गर्दै तयार भैसकेका ब्लक क्षेत्रहरुलाई व्यवस्थीत गर्ने उत्पादनलाई प्रोत्शाहन गर्न सिमा निर्धारण गरि अन्य प्रजातीका रुखहरु हटाउनुका साथै माटोको गुणस्तर परीक्षण गरी उत्पादनका कार्यक्रम संचालन हुने छन् ।


धम्जाको उपल्लो भेग, रेशको उपल्लो भेग, तंग्रामको फापरखेत, लेखानीको कादेश क्षेत्रलाई आलु पकेट क्षेत्र, काठेखोला–६ बिहुँको अधिकांश भाग र काठेखोला–१, २, ४, ५, ७ र ८ वार्डको तल्लो भेग क्षेत्रलाई सुन्तला पकेट एवम सुन्तला जोन क्षेत्रको रुपमा विकास गरिने कार्यक्रम छ । गाउँपालिकाको वडा नं. ७ मा मूख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम संचालनमा रहेको छ ।

अध्यक्ष थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रम

1 टिप्पणी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here