
बागलुङ, १६ बैशाख ।
काठेखोला गाउँपालीकाका अध्यक्ष अमर थापाले अहिले देशमा चलिरहेको असारे बिकासलाई अन्त्य नगरेसम्म देशमा दिगो बिकास हुन नसक्ने बताउनुभएको छ ।
अध्यक्ष थापाले धौलागिरी संचार क्लब बागलुङले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै असारे विकासको अन्त्य नहुँदा देशमा दिगो विकास हुन नसक्ने भएकाले अन्त्य गर्न जरुरी भएको बताउनुभयो ।
अध्यक्ष थापाले गाउँपालिकामा दिगो विकास गर्नको लागि यो वर्षको विकास निर्माणको काम बैशाख मसान्तसम्म सक्ने तयारी गरिएको बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्म असार लागेपछि कामको सुरुवात हुने र बजेट सक्ने मात्र काम हुने गरेको बताउँदै त्यसको अन्त्यको लागि गाउँपालिकाले बैशाख मसान्तसम्म काम सक्ने ठेकेदार र उपभोक्ता समितिहरुलाई बजेट निकासा गरिने जानकारी गराएको र त्यहि अनुसार काम भइरहेको बताउनुभयो ।
काठेखोला गाउँपालीकामा रहेको प्रसिद्ध रामकोट मन्दिर ओझेलमा परेको बताउदै यसको प्रचारप्रसार गर्न सके यहाँ हजारौं धार्मिक पर्यटक आउने अध्यक्ष थापाले बताउनुभयो । अहिले गाउँपालिकामा आलु सुन्तला लगायतका खेतीलाई ब्यबसायीक तर्फ जोड्ने कामको शुरूवात गरिसकेको हँुदा यस क्षेत्रका कृषकले राम्रो आम्दानी गर्ने उहाँले बताउनुभयो ।
यस्तै गाउँपालिकाले यस बर्ष २५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा त्यो पूरा भएको बिकासमा जनताको सहभागीता पनि प्रत्यक्ष रूपमा जोडेको थापाले बताउनुभयो । अहिले गाउँपालिकामा बिकास निर्माण लगायतका काम विभिन्न क्षेत्रबाट भए पनि आफुहरूसंग कुनै किसिमको समन्वय नहुँदा अन्यौलता सृजना हुने गरेको अध्यक्ष थापाले जानकारी दिए ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य सृजना पन्त र संचालन कोषाध्यक्ष कोपिला कंडेलले गर्नुभएको थियो ।
