
बागलुङ, १५ बैशाख ।
पहिरोबाट विस्थापित बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा १० घर दलित परिवारमा पुनस्थापित हुने आसा पलाएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिरकणले पुर्नरवासको लागी जग्गा उपलब्ध गराए पछि विस्थापित परिवारलाई बलियो घर बन्ने विश्वास लागेको हो ।
विगत दश महिनादेखि अरुकै घर गोठमा आश्रय लिएर दैनिकी गुर्जादै आएका परिवारलाई बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको पहिरो विस्थापित परिवारलाई पुनःस्थापनको लागि जग्गा उपलब्ध गराइएको थियो ।
पहिरो विस्थापित बिहुँ–५ तल्लो काउलेका १० परिवार दलित परिवारलाई जोखिमयुक्त बस्ती स्थानन्तरणको लागि जग्गा प्रदान गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान) व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय बागलुङले २० लाख रुपैयाँमा खरिद गरेको जग्गाका लालपूर्जा विस्थापित परिवारलाई हस्तान्तरण गरिएको छ ।
भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भारी वर्षाले बस्ती नै भासिएको थियो । विस्थापित १४ परिवार मध्ये ४ परिवारको अन्यत्र जग्गा जमिन रहेको हुँदा उपलब्ध गराउन नसकिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ बागलुङमा प्रमुख इन्जिनीयर रामाशीष साहले जानकारी दिनुभयो ।
भूर्गभ विभागको अध्ययन पछि बस्ती स्थानान्तरणको लागि पहल थालेको उहाँले बताउनुभयो । दश परिवारको लागि खरिद गरिएको उक्ता जग्गामा एकीकृत बस्ती निर्माण हुने छ । जग्गा प्राप्त भए पछि अब विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी घर निर्माण कार्य सुरु हुने इन्जिनियर साहको भनाई छ ।
एकीकृत बस्ती निर्माणको लागि पूर्वाधार (सडक, विजुली, पानी) निर्माण तर्फ प्रतिघर ४ लाख र घर निर्माणको लागि ३ लाख रुपैयाँ प्राधिकरणले उपलब्ध गराउने बताइएको छ । बस्तीमुनि तथा माथिबाट लोकमार्ग निर्माण भएको र भूकम्पले जमीन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको निष्कर्षपछि बस्ती निर्माणको कार्यअगाडि बढेको वडाध्यक्ष शिव कँडेलले बताउनुभयो ।
विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर जीवन निर्वाह गर्दै आएका छन् । लालपूर्जा प्राप्त गरे पछि विस्थापित परिवारले खुःसी व्यक्त गरे । ‘अब घर बन्ने आसा जागेको छ’ विस्थापित नेत्रलाल दर्जीले भन्नुभयो–‘ सबैको साथ र सहयोगले छोटो समयमा जग्गा पायौ, घर पनि पाउने छौँ । घर निर्माणको निकासा गाउँपालिकाबाट हुने बताइएको छ ।
