
खेमराज गौतम (सुवास)
बागलुङ, ५ असार । सफलता के हो ? हिजोको तुलानामा सफल हो ? समाजमा इमान र प्रतिष्ठा कमाउनु सफलता हो ? धेरै धन दौलत आर्जन गर्नु सफलता हो ? सफलतालाई अनेक कोणबाट हेर्न र बुझ्न सकिन्छ ।
सफलताको विषयमा व्यक्ति समुदाय अनुसार फरक–फरक अर्थले बुझाउन सकिन्छ । व्यक्तिको चेतना, समुदायको आवस्यकता र समाजका अनेकौं पाटोहरुमा भरपर्ने कुरा हो सफलता ।
यद्यपि आम मानिस विशेषगरि भौतिक सुख र सुविधाहरु प्राप्त गर्नुलाई नै सफलता ठान्छन् । अर्को शब्दमा भन्नुपर्दा, ठूलो संस्थामा काम गर्न पाउनु, आकर्षक पारिश्रमिक लिनु, अथाह आम्दानी गर्नु, आलिसान महलमा बस्नु, नयाँ–नयाँ मोडेलको कारमा यात्रा गर्नुलाई सफलताको रुपमा परिभाषित गर्छन् । तर ग्राउण्ड जिरोबाट संघर्ष गरि प्रतिस्प्रधानमा उत्रिनु, आर्थिक उपार्जन गर्नुका साथै सामाजिक प्रतिष्ठा समेत कमाउने गरी गरिएको तीन कामको संयोजनलाई समग्र हिसावले सफलता मान्न सकिन्छ ।
जीवनमा सफल हुनुलाई के–के प्राप्त गरियो होइन, समाज र राष्ट्रलाई के कतती योगदान दिइयो भन्ने कुरा समेत बुझ्न आवश्यक छ । सफलताका लागि धैर्यता र दृणसंकल्प चाहिन्छ भन्ने उदारणको पात्र थोरै छन् । हतमा व्यवसायिक निर्णय लिने, तत्कालै मुनाफा खोज्ने र व्यवसाय परिवर्तन गर्नेहरुले सफलता कम हात पार्ने सफल व्यक्तिहरुको अनुभवबाट जान्न सकिन्छ ।
व्यावसायिक सोच, इच्छाशक्ति, निरन्तरता, दृणसंकल्प र धैर्याताका कारण मानिसहरु व्यवसायमा सफल हुँदै गएको उदारण हुनुहुन्छ बागलुङ बजारका दयाराम पौडेल । व्यावसायिक जिवनमा आउने उताड–चडावलाई सहज रुपमा जस्ले लिन्छ उसैले व्यावसायिक जीवनमा सफलता प्राप्त गर्न सक्दछ भन्ने उदाहरण बन्नुभएको छ गाउँबाट बजार झरेर हाडर्वयर व्यवसायमा लाग्नुभएका पौडेल ।
छिटो प्रतिफल कमाउने होडमा लगानी माटोमा मिलाएको समेत थुप्रै उदाहरणका बीच बजारमा स्थापित व्यवसायीसंग प्रतिस्प्रर्धागरी व्यवसायमा सफलता कमाउन निरन्तरता चाहिने उहाँको सोच छ । निरन्तरता र लगनीशलताका कारण हार्डवयर व्यवसायमा २७ वर्ष देखि जम्दै आउनुभएको बागलुङ नगरपालिका–२ निवासी दयाराम पौडेल व्यवसाय गर्न चाहनेका लागि उदारणको पात्र समेत हुनुहुन्छ ।
पर्वतको पाङ्बाट बागलुङ बजार झरेर शुन्यबाट व्यापार व्यवसाय शुरु गर्नुभएको पौडेलले २६ वर्ष सम्म आफ्नो व्यवसायलाई उत्तिकै अगाढी बढाउदै आउनुभएको छ ।
२०५४ सालमा बागलुङ बजारमा थिए पाँच हार्डवयर पसल
२०५४ साल अघि बागलुङमा निर्माण सामाग्रीका पसलहरु नगन्य मात्रमा देखिन्थे । त्यसताका आधुनिक निर्माण सामाग्रीको समेत कम प्रयोग थियो । काठ, ढुङ्गाबाट अधिकांश घरहरु बन्ने चलन थियो । २०५४ सालमा दयाराम पौडेलले पर्वतको कुस्मा नगरपालिका–१ पाङ बाट आएर सृष्टि हार्डवयर स्थापना गर्दा बागलुङमा जम्मा पाँच हार्डवयर थिए ।
त्यसताकाको दुरदृष्टि र धर्यता अनि परिवारको व्यावसायिक प्रेरणाका कारण आफू २७ वर्ष देखि व्यवसायमा आबद्ध रहेको पौडेलको अनुभव छ । “पाङबाट आएका म जस्ता दर्जन व्यक्तिहरु बागलुङ बजारमा जमेर बसेका छन्, हाम्रो परिवार नै व्यवसायीक सोच भएको परिवार हो, कुनैबेला नाफा होला त कुनै बेला घाटा तर व्यवसायमा निरन्तरता चाहिन्छ, दृणसंकल्प चाहिन्छ” पौडेलले भन्नुभयो । “अहिले बागलुङमा अनगिन्ति हार्डवयर पसल छन्, अस्वस्थ प्रतिस्प्रधा भइरहेको छ, तर यसको प्रभाव नयाँ व्यवसायीलाई बढी पर्ने देखिन्छ, लगानी वृद्धि, बैंकको ऋण र व्याजको समस्यामा अधिकांश नयाँ व्यवसायी परेका छन्, पुराना व्यवसायी जस्ले पूँजी स्थापना गरीसके उनिहरुलाई कोरोनाका कारण केही समस्या भयो, अहिले पनि होला तर तुलनात्मक हिसाबले स्थापित व्यवसायीलाई समस्या छैन ।” पौडेलका अनुसार व्यापारबाट आर्जन गरेको नाफाले पूँजी बृटि गर्नसके व्यवसायमा आउने समस्यालाई त्यही पूँजीले काम गर्न सक्छ ।
कोरोनाकालबाट गुज्रियएको व्यवसायलाई अहिलेको आर्थिक संकट र बैंकिङ नियामनका कारण झनै समस्यामा परेको देखिन्छ । ५२ वर्षीय पौडेलको हार्डवयर व्यवसायमा जम्नका लागि थुप्रै कठनाई भोग्नुपरेको अनुभव समेत छ । व्यवसायिक सफलताका लागि थुप्रै समस्यासंग जुध्न सक्नुपर्ने र समस्यासंग हार खाने व्यक्ति कहिलै सफलतामा नपुग्ने भन्दै धर्यता र निरन्तरता नै व्यवसायीक सफलताको मन्त्र रहेको पौडेलको बुझाई छ ।
सामाजिक काममा समेत सक्रिय
सफल हार्डवयर व्यावसायी पौडेल बागलुङ उद्योग वाणिज्यसंघका पूर्व महासचिव समेत भइसक्नुभएको छ । व्यवसायीको हक हितका लागि समेत विभिन्न संघ तथा संस्थामा आवद्ध हुनुभएका पौडेलले व्यवसाय सफल हुनका लागि निरन्तरता संगै हिसाब किताब राख्ने, नाफा घाटाको रेकर्ड राख्ने तथा उधारो व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
व्यवसाय शुरु गर्नुपूर्व व्यवसायको भविश्यका विषयमा समेत अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताउदै पौडेलले धेरै व्यवसाय हिसाव किताव राम्रो नराख्दा डुबेको सुनाउनुभयो । उहाँले अर्काको व्यवसाय देखेर सिको गर्न नहुँने भन्दै अन्तरआत्मदेखिनै व्यवसायिक क्षेत्रमा नविनतम सोच ल्याउन आवश्यक रहेको बताउनुभयो । पौडेल रोटरी क्लब अफ बागलुङ सहित थुप्रै सामाजिक संघ संस्थामा रहेर काम गर्दै आउनुभएको छ । अहिले पौडेल नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश सदस्य समेत भएर उद्योगी तथा व्यवसायीको हक हितका लागि काम समेत गर्दै आउनुभएको छ ।
२० लाखबाट सुरुवात, करोडौंको करोवार
पौडेलले २०५४ सालमा २० लाख लगानी गरेर हार्डवयर पसल सञ्चालनमा ल्याउनुभएका पौडेलको अहिले यही व्यवसायमा करोड भन्दा बढी लगानी पुगिसकेको छ । उहाँले बागलुङ बजारमा व्यापार विस्तार समेत गरेर लगानी वृद्धि गरिसक्नुभएको छ । “व्यवसाय एकनासको हुँदैन, कहिले घाटा त कहिले नाफा हुन्छ, तर व्यवसाय गर्नु पुर्व अध्ययन गर्न आवश्यक छ, हचुवाको भरमा गरेको व्यवसाय दीर्घकालिन हुँदैन, भविश्यको सुनिश्चितता अध्ययन गर्न आवश्यक छ” पौडेलले भन्नुभयो “आजको समयमा समग्र व्यवसायीहरु तीन कारणले समस्या ग्रस्त बनेका छन्, जुन चर्को व्याज, उदारो र अस्वस्थ प्रतिस्प्रधा हो ।” अस्वस्थ प्रतिस्प्रर्धाले साना लगानीकर्ता र नयाँ लगानीकर्तालाई छिटो प्रभाव पार्ने बताउदै व्यवसायमा आउने जोखिम न्यूनिकरणका लागि नाफाको केही रकम जगेडा राख्नुपर्ने बताउनुभयो । पौडेलले उद्योग वाणिज्यसंघको महासचिवको कार्यकालमा व्यवसायिक हक हितका लागि थुप्रै काम समेत गर्नुभएको थियो ।
“अहिलेको समयमा आर्थिक संकट छ तर व्यवसायीहरुमा धैर्यता चाहिन्छ तर यो भन्दैमा बैंकको ऋण तथा व्याज तिर्न कठिनै छ, शुरुमै ठूलो लगानी गर्दा घर खेत जान सक्छ, सफलतापछि आर्जन गरेको नाफाले लगानी बढाउदा व्यवसायले निरन्तरता पाउछ” उहाँको भनाई छ ।
व्यवसाय शुरु गर्दा शतप्रतिशत ऋणबाट शुरु गर्न नहुँने पौडेलको सुझाव छ । अहिलेका व्यवसायीलाई उधारो नउठ्ने समस्या देखिएको बताउदै पौडेलले व्यवसायमा धेरै सोच विचार गरेर मात्रै आउनुपर्ने सुझाव पोडेलको छ । बागलुङ बजारका धेरै हार्डवयर पसलहरु उधारो कारोवारका कारण समस्यामा समेत परेको देखिएको उहाँको भनाई छ ।
