
बागलुङ, २७ फागुन ।
बागलुङको जैमिनी नगरपालिका अन्तर्गतका भुकम्प पीडितले निजी आवास पुनःनिर्माण अन्तर्गतको रकम नपाएको गुनासो गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार) बागलुङले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भुकम्प पीडितहरुले कार्यविधि आउनु पूर्व निर्माण भएका घरले अनुदान पाउनुपर्ने माग राखेका थिए ।
वास्तविक भुकम्प पीडितले तत्काल ऋणधन गरी ओत लाग्ने बास निर्माण गरे पनि अनुदानबाट वञ्चित हुनुपरेको उनीहरुको गुनासो थियो । ‘ऋणधन गरेर घर बनायौँ, ब्याजले घरखेत हुने अवस्था भयो’ जैमिनी नगरपालिका–१० राङखानीकी भुकम्प पीडित मनरुपी रानाले भन्नुभयो–‘अनुदान नपाए भएको घरपनि साहुलाई बुझाउनु पर्ने अवस्था हुनेछ ।’
पीडितको खातामा प्राप्त अनुदान रकम समेत प्राधिकरणले रोकेको उनीहरुले बताएका थिए । पहिले छिटो घर बनाउनुहोस भन्ने अहिले अनुदान रोक्ने कस्तो प्रवृत्ति हो’ दमेकका भुकम्प पीडित चिन्तमणी परियारले भन्नुभयो–‘सरकारले सबै पीडितलाई समान व्यवहार गर्नुप¥यो ।’

सहभागीहरुले नगरपालिकामा खटिएका प्राविधिक गाउँ गाउँमा नपुगेका गुनासो गरेका थिए । प्राविधिक गाउँमा जाँदैनन कसरी घर बनाउने अन्यौल भएको छ ‘राङखानीका भुकम्प पीडित गंगाबहादुर श्रीसले भन्नुभयो–कार्यविधि बन्नुपूर्व निर्माण भएका घरलाई जसरी पनि अनुदानको व्यवस्था गर्नुपर्छ ।’
पहिलो किस्ता बापतकोे ५० हजार रुपैयाँ लिएर घर बनाएका भुकम्प पीडितलाई प्राधिकरणले मापदण्ड विपरित घर निर्माण गरेको मूल्याङकन गरे पछि जैमिनी नगर क्षेत्रका २३५ घरधुरी दोस्रो र तेस्रो किस्ता बापतको अनुदान लिनबाट वञ्चित भएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।
सरकारले कार्यविधि निर्माण हुनुपूर्व निर्माण भएका घरलाई सम्बन्धी स्थानीय तहले प्रमाणिकरण गरी सिफारिस गरेको आधारमा घर बनाई बसोबास गर्ने घरधनीहरुलाई अनुदानको रकम एक मुष्ट तीन लाख उपलब्ध गराउने निर्णय गरेको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख रामाशिष शाहले जानकारी दिनुभयो ।
‘वास्तविक भुकम्प पीडितले राहत नपाउनु दुःखद हो’ जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले भन्नुभयो– जटिल प्रक्रियाको कारण जनताले राहत पाउन ढिलाई भएको बताउनुभयो ।
समन्वय समितिले सरल र सहज तरिकाबाट पूर्वनिर्माण भएका घरलाई अनुदान उपलब्ध गराउन पहल गरेको जानकारी दिनुभएको थियो । निरन्तरको खबरदारी पछि अनुदान दिने निर्णय भएको छ’ उहाँले भन्नुभयो–‘कार्यविधि निर्माण भए पछि सबैले अनुदान पाउँछन ।’
