
बागलुङ, २६ पुस ।
कालिका कन्या मन्दिर बागलुङको नवनिर्मीत भवनको बिहीबार उद्घाटन गरिएको छ ।
विभीन्न दाताहरुको सहयोग निर्माण गरिएको कोठाको सम्बन्धीत दाताले नै उद्घाटन गरेका हुन् । विद्यालयको प्रतिव्यक्ति ६ लाख ५० हजारका दरले रकम दिएर पाँच जनाले एक/एक कोठा निर्माण गरेका थिए । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भीमसेनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, विमला भारी, समिरकुमारी श्रेष्ठ, श्रवणलाल शाक्यले एक÷एक वटा कोठा निर्माणका लागि रकम सहयोग गरेका थिए ।
उक्त अवसरमा एक लाख रुपैयाँ मूल्य बराबरको युरोगार्ड र ह्वाईट बोर्ड तथा हिल ट्याङ्क लगायतका सामग्री मन्दिरा श्रेष्ठले हस्तान्तरण गरेकी थिईन् । ईश्वर श्रेष्ठले ४५ हजार रुपैयाँ मूल्य बराबरको ह्वाईट बोर्ड सहयोग गरे । कृष्णकुमार श्रेष्ठले भवनका लागि आवश्यक जग्गा प्रदान गरेका छन् । सिद्धार्थ वनस्थली आवासीय मावि काठमाडौंका प्रिन्सीपल रुपक राजवंशीले ७० थान डेस्क बेन्च सहयोग गरे । कल्पना श्रेष्ठले ३० हजार मूल्य बराबरको युरोगार्ड प्रदान गरिन् ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा वर्तमान सल्लाहकार संरक्षक रत्ना श्रेष्ठले आफु जहाँ भए पनि विद्यालयलाई सदैव सहयोग गर्ने प्रतिवद्धता जनाईन् । ‘मैले यो विद्यालयमा लामो समयसम्म अध्यापन गराउने र विद्यालयको प्रशासन समेत सम्हाल्ने मौका पाएको थिएँ,’ उनले भनिन्,‘म जहाँ भए पनि यो विद्यालयप्रति मेरो माया सधैं रहनेछ । आफुले सकेको सहयोग गर्न म संधै तयार छु ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, श्रवणलाल शाक्य, बागलुङ नगरपालिका—३ की अध्यक्ष लक्ष्मी बास्कोटा, शिक्षक महासंघका केन्द्रीय सचिव केशवराज रेग्मी, बागलुङ समाज काठमाडौं महिला समुहकी अध्यक्ष निर्मला श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेल, छिमेकी विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्य, समाजसेवी लालचन्द्र राजभण्डारी, शिक्षक सुदर्शन कँडेल, विद्यार्थी शंकर परियार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनराज सापकोटाले विद्यालयको गतिविधि बारेमा जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमसेन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक हुमा रिजाल, सञ्चालन लक्ष्मीकान्त शर्मा र धन्यवाद ज्ञापन शिक्षक ईश्वर ठाकुर पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयले पूर्व प्रअ रत्ना श्रेष्ठ र वडाध्यक्ष लक्ष्मी बासकोटालाई सम्मान गरेको छ ।
