![IMG_1853[1]](https://khabarway.com/wp-content/uploads/2018/12/IMG_18531-696x522.jpg)
बागलुङ, २ पुस ।
बगलुङ नरपालिका वडा नम्बर ८ सिगानामा हुने तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनीको तयारी तिब्रगतिमा अगाडी बढाइएको छ ।
गणेश व्यवसायीक कृषि सहकारीको आयोजना र बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाको सहआयोजनामा संचालन हुन लागेको तयारीलाई तिब्रता दिइएको आयोजकले आईतबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
स्थानिय सुन्तलाको व्यवसयिक प्रर्बद्धन गर्न र स्थानिय सुन्तलालाई बजारीकरण गर्नको लागि आगामी पुस ६ गतेदेखि १० गतेसम्म तेस्रो सुन्तला उत्सव गर्न लागेको मुल आयोजक समितिका उपसंयोजक शिव खड्काले जानकारी दिनुभयो । ‘सिगानामा गुलिया र क्वालिटिका सुन्तलाहरु उत्पादन हुने विज्ञहरुको टोलीले अनुसन्धान गरेरनै पत्ता लगाएका छन्’ उपसंयोजक खड्काले भन्नुभयो–‘क्वालिटिका सुन्तलाहरु उत्पादन हुनेभएता पनि सोचे अनुरुपको बजारिकरण नभएकाले उत्सवको आयोजना गरिएको हो ।’बागलुङको सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिदै आएको सिगानामा उत्पादन गरिएका सुन्तलाहरुलाई बजारीकरण र कृषकहरुलाई सुन्तलाप्रति आकर्षणको लागि विगतबाट गरिदै आएको महोत्सवलाई निरन्तरता दिइएको हो खड्काले भन्नुभयो ।
सुन्तलालाई प्रमुख प्राथमिकता दिइएको उत्सवमा सिगानामा उत्पादन हुने गोलभेडा, काउँली, लगायत अन्य कृषि सामाग्रीहरुको प्रदर्शनी गरिने मुल संयोजक तथा गणेश व्यवसायीक कृषि सहकारीका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो । ‘हाम्रो पहिलो प्राथमिकता सुन्तलाको बजारीकरणको लागि प्रचारप्रसार गर्नेनै हो’ अध्यक्ष खड्काले भन्नुभयो–‘उत्सवमा सुन्तलाको साथै सिगानामा उत्पादन हुने तरकारीहरुको प्रदर्शनी गरि सिगाना कृषिमा आत्मनिर्भर रहेको जानकारी गराउने योजना छ ।’
सिगानाबाट गतवर्ष २५ लाख बराबरको सुन्तलाहरु बोटबाटै विक्रि भएको बागलुङ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । ‘गतवर्ष सुन्तला महोत्सवको प्रचारबाट पोखराका व्यवसायिहरुले सुन्तला बगैचाबाटै किनेर लगेकाले राम्रो विक्रि भएको थियो’ वडाअध्यक्ष जिसीले भन्नुभयो यस वर्ष सुन्तलाको विक्रि बढ्ने अनुमान छ । यसवर्ष १२ हजार सुन्तलाको विरुवा लगाइएको र आर्थिक वर्षभरीमा २० हजार विरुवा लगाउने योजना बनाएको छौं ।’ जिसीले सिगानाको आर्थिक विकासको लागि कृषिलाई पहिलो प्राथमिकता दिएको बताउँदै सिगानाको सुन्तलाको साथै अन्य कृषिहरुलाई प्राथमिकताको साथै कृषकहरुलाई सम्मान दिइएको बताउनुभयो । ‘सिगाना कृषिको लागि उर्वराभुमि हो’ वडाअध्यक्ष जिसीले भन्नुभयो–‘अहिले सिगानाको तल्लोभेगमा कपि, केरा, विचको भागमा सुन्तला र माथिल्लो भागमा चियाको व्यवसायिक उत्पादन सुरु गरिएको छ ।’
सिगानामा सुन्तला उत्पादन हुने राम्रो क्षेत्रका रुपमा घोषणा भई हाल प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगतको सुन्तला जोन म्याग्दीले समेत सिगानालाई सुन्तला जोन क्षेत्र भित्र समावेश गरेको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जि.सी.ले बताए । हाल सुन्तला जोन म्याग्दीले म्याग्दीसँगै बागलुङ नगरपालिकाको सिगाना र काँठेगाउँपालिका वडाहरुमा सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास गर्न लागिरहेको छ ।
उत्सवमा ८ लाख खर्च र १० लाखसम्म आम्दानी गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । सुन्तला उत्सव सफल बनाउनको लागि विदेशमा रहेका सिगानाबासीहरुले हालसम्म ५ लाख रुपैयाँ सहयोग पठाईसकेको उपसंयोजक खड्काले जानकारी दिनुभयो । खड्काले अझै पनि सहयोग आउनेक्रम जारी रहेकाले र उत्सवमा स्टिलबाट केहि रकम संकलन हुनेभएकाले सोचेअनुरुपको कारोबार हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमको कृषि प्रदर्शनी, खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, प्रावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता, मा.वि. स्तरिय वक्तृत्वकला प्रतियोगिता, आमा समूहबिच रत्यौली प्रतियोगिता, लोक भजन प्रतियोगिता, आमा समूहबिच रस्साकसी प्रतियोगिता, स्थानीय झ्याउरे गित प्रतियोगिताको आयोजना गरिएको छ । उत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहनेपनि आयोजकले जनाएको छ ।
गणेश व्यवसायीक कृषि सहकारी लिमिटेडका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत बानपा–८ सिगाना कृषि संजालका अध्यक्ष रेशम बहादुर थापा र संचालन पत्रकार सज्जनकुमार सिंहले गर्नुभएको थियो ।
