भीमापोखरामा अनुदानमा १६ ओटा मिनीटेलर हलो वितरण

बागलुङ, ३ मंसिर ।
बागलुङको काठेखोला गाउँपालिका– २ भीमापोखराका कृषकहरुलाई १६ ओटा मिनी पावर टिलर (यान्त्रीक हलो) हस्तान्तरण गरिएको छ ।
काठेखोला गाउँपालिका र वडा–२ भीमापोखराले १६ ओटा कृषक समुहलाई १६ ओटा मिनिटेलर हलो वितरण गरेको हो । वडा कार्यालयले अनुदानमा ३ लाख १० हजार रुपैयाँका हलो वितरण गरेको वडाअध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो ।
यान्त्रीक हलो वितरणपछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले कृषिमा आधुनिकिरण तथा यान्त्रीकरणको प्रयोगबाट उत्पादन वृद्धि हुनुका साथै व्यवसायिक बन्न सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष थापाले गाउँपालिकालाई आत्मनिर्भर बनाउन कृषिलाई प्रथामिकता दिएको बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता रामप्रसाद शर्मा, राप्रपा नेपालका अध्यक्ष मानबहादुर कार्की, जिल्ला सूचना तथा संचार सहकारी संघका उपाध्यक्ष खिमबहादुर कार्की, कृषि समितिका अध्यक्ष ऋषिराम शर्मा, कृषक चन्द्रकला थापा र यामप्रसाद शर्माले बोल्नुभएको थियो ।
कार्यक्रम काठेखोला गाउँपालिका– २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्माको अध्यक्षता, वडा सदस्य चिरन थापाको स्वागत र सुर्य बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।