बागलुङ क्षेत्र–१ का सांसदद्वारा सांसद विकास कोषको बजेट स्थानिय तहलाई बाँडफाँड

बागलुङ, १८ कार्तिक
सरकारले हरेक निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि प्रदान गर्ने स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगत बागलुङ क्षेत्र नम्बर एकमा ठूला योजनालाई प्राथमिकता दिइएको छ । क्षेत्र विकासका लागि आउने बजेट साना तिना योजनाहरुमा बाड्दा उल्लेख्य काम देख्न नसकिएकाले क्षेत्र नम्बर एकका चार वटा योजनालाई प्राथमिकता दिइएको हो ।
बागलुङ क्षेत्र नम्बर एकका सांसद डाक्टर सूर्य पाठकको संयोजकत्वमा बसेको योजना छनोट परामर्श समितिको बैठकले निर्वाचन क्षेत्र नम्बर एक भित्र पर्ने चारवटै स्थानीय तहलाई बरावर बजेट बिनियोजन गर्दै सम्बन्धीत स्थानीय तहसँगको सहकार्यमा ठूला आयोजनालाई प्राथमिकता दिइएको सांसद पाठकले बताउनुभयो । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि हरेक निर्वाचन क्षेत्रका चार करोड रुपियाँ विनियोजन गरेको थियो ।
निर्वाचन क्षेत्रमा प्राप्त चार करोड रुपियाँ मध्य निर्वाचन क्षेत्र भित्र पर्ने बागलुङका चार वटा स्थानीय तहलाई एउटा मात्र आयोजनाका लागि एक–एक करोड रुपियाँ विनियोजन गर्ने सैद्दान्तिक सहमति भएको पाठकले बताउनुभयो । उक्त कार्यक्रममार्फत बागलुङका बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाले एकवटा योजना छनोट गरेर काम गर्नेछन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट प्राप्त एक–एक करोड रुपियाँ मध्य स्थानीय तहले योजना सम्पन्न गर्नकालागि थप रकम साझेदारी गर्नेछन् । बैठकको सहमति अनुसार बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाले ३० प्रतिशत तथा जैमिनी नगरपालिकाले ५० प्रतिशत रकम थप गर्नेछन् । थपिएको रकमसँगै बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाले एक करोड ३० लाख रुपियाँ लागतको एउटा योजना र जैमिनी नगरपालिकाले एक करोड ५० लाखको एउटा योजनाका लागि काम गर्नेछन ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका संयोजक एवं बागलुङ क्षेत्र नम्बर एकका सांसद डाक्टर सूर्य पाठकको अध्यक्षतामा भएको बैठकमा राष्ट्रियसभाका सदस्य एवं नेकपाका संसदीय दलका नेता दिनानाथ शर्मा, संघीय सांसद मनकुमारी केसी, गण्डकी प्रदेशका सांसद, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख तथा चारवटा स्थानीय तहका नगरप्रमुख तथा गाउँपालिका प्रमुखको सहभागिता रहेको थियो ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको बैठक आज बागलुङ सम्पन्न भई निम्न लिखित निर्णय गरियोः
१) योजनाहरु केन्द्रीत गर्ने ।
२) कार्यक्रमको चार करोड मध्य प्रत्येक स्थानीय तहलाई एक–एक करोड विनियोजन गरियो ।
३) प्रत्यक स्थानीय तहले उक्त कार्यक्रममा ३० देखि ५० प्रतिशत योगदान थप गर्ने ।
४) विगतका अभ्यासहरुलाई हेर्दा वितरणमुखी बजेटले परिणाम नदिएको हुँदा ठोस ढंगले योजना सम्पन्न गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको छ । प्रभावकारी ढंगबाट योजना सम्पन्न गर्नका लागि सबैको सकरात्मक सहयोगको अपेक्षा गरेको छु ।