बागलुङका ४ सहकारीले दशैंको लागि बजार पठाए ९ सय १५ खसी

अर्जुन कार्की
बागलुङ, ३० असोज । 
बागलुङका चार ओटा सहकारीहरुले दशैंको अवसरमा स्थानिय खसी बोका बजारमा विक्रि गरिरहेका छन् ।
काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र बसन्त सामाजिक उद्यमी महिला विकास सहकारी र जैमिनी नगरपालिका वडा नम्बर ३ दमेकका रुद्रताल सामाजिक उद्यमी महिला विकास सहकारी र भाग्दयो सामाजिक उद्यमी महिला विकास सहकारी संस्था लिमिटेडले दशैंको अवसरमा ९ सय १५ ओटा खसी बोकाहरु बजारमा निर्यात गर्ने लक्ष्य सहित धमाधम विक्रि गरिरहेका छन् ।
हेफर इन्टरनेशनको कार्यक्रम अन्तरगत गठित सहकारीहरुले स्थानीय स्तरमा उत्पादित खसी बोका संकलन र विक्री वितरणको जिम्मेबारी लिएपछि कृषकहरु पनि बाख्रा पालनमा आकर्षित भएका छन् ।
बाह्रै महिना बजारमा खसी बोकाहरु विक्रि गर्दै आएका सहकारीहरुले अहिले दशैंको अवसरमा बाह्य भन्दा स्थानिय उत्पादनलाई प्रत्साहन गर्नुपर्छ भन्दै बजारको माग अनुसार खसी बोका निर्यात गरिरहेको सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका –४ तंग्रामकी अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो ।
सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको संख्या बढदै गएको छ ।
सहकारीका सदस्यले बाख्रा पाल्ने, सहकारी संस्थाले खरिद गरेर विक्री गर्दै आएका छन् । संस्थाले सदस्यले उत्पादन गरेका खसी बोकाहरु जिउँदो बजारमा प्रति केजी ४ सय ५ रुपैयाँमा विक्री गर्दै आएका छन् । सहकारी मार्फत सदस्यको उत्पादन विक्री गरेर उनीहरुको आयआर्जन वृद्धि गराउन पाउदा आनन्द आउने गरेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष श्रीसले बताउनुभयो ।


जिल्लाका ४ सहकारीहरुले यस वर्ष ९ सय १५ ओटा खसी बजारमा विक्रि गर्ने लक्ष्य लिएर विक्रि गरिरहेका छन् । सहकारीहरुले शनिबारसम्म ५ सय ६३ ओटा खसी विक्रि गरिरहेका छन् । काठेखोला गाउँपालिका ४ तंग्रामको सप्तरंगि सहकारीले २९० ओट विक्रि गर्ने लक्ष्य लिएकोमा २ सय ओटा विक्रि गरिसकेको छभने बसन्त सहकारीले २ सय ओटा बेच्ने लक्ष्य लिएकोमा एक सय ओटा खसी विक्रि गरिसकको जनाएको छ ।


यस्तै जैमिनी नगरपालिका ३ दमेकको रुद्रताल सहकारीले दुई सय ६५ ओटा बेच्ने लक्ष्य लिएकोमा दुई सय ओटा खसी विक्रि गरिसकेको छ । सहकारीले दश ओटा खसी पोखराको बजारमा समेत विक्रि गरेको जनाएको छ । यस्तै भाग्दयो सहकारीले एक सय ६० ओटा बेच्ने लक्ष्य लिएकोमा शनिबारसम्म ९० ओटा विक्रि गरिसकोको जनाएको छ । अहिले सहकारीमा ग्राहकहरुले फोन गरेर मगाउने र सोहि अनुरुप पठाउने गरिएको सहकारीहरुले जनाएका छन् । हेफर इन्टरनेशनल मार्फत भीमापोखरा युवा क्लब विवाईसी बागलुङले साविको तंग्राम गाविस र दमेक गाविसमा विगत ६ वर्षदेखि साना किसान सबलीकरण परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाबाट सहकारी निर्माण गरिएको र सदस्यहरुलाई आयआर्जनका काममा केन्द्रित गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो ।