
नवीन शिशिर
बागलुङ, १२ असोज ।
बागलुङदेखि पर्वतको पाङ्ग जोड्ने गरी निर्माण गर्ने नेपालकै लामो पुल प्राविधिक हिसाबले निर्माण सम्भव देखिएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखा सहिद पार्कदेखि पर्वतको पाङ्ग अदुवाबारी जोडने ५ सय ६७ मिटर लामो पुल निर्माणको लागि प्राविधिक हिसाबले सम्भव देखिएको हो ।
स्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचको क्रममा पुल निर्माण प्राविधिक दृष्टिले निर्माण गर्न सकिने सपेन्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर हुमानाथ मिश्रले जानकारी दिए ।
वि.स २०५९ सालदेखि पुल निर्माणको लागि विभिन्न चरणमा छलफल, बहस र नाप जाँच भए पनि लठ्ठातान्ने प्रविधिको अभावमा काम रोकिएको थियो । बागलुङ नगरपालिकामा जनप्रतिनिधि आए पछि पुल निर्माणको लागि केन्द्रीय तहमा पहल गरे पछि ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले पुल निर्माणको सम्भाव्यता अध्यान गरेको हो ।
विगतमा पुल निर्माणको लागि लठ्ठा तान्न समस्या हुने देखिए पछि उक्त कार्यको सुरुवात हुन सकेको थिएन । चाईनज प्रविधिको लठ्ठा तान्ने मेशिन मित्रिए पछि शहिद पार्कदेखि आदुवावारीसम्म पुल निर्माण गर्न सकिने इन्जिनियर मिश्रको भनाई छ । यस अघि आवर क्रियटिभ नेपाल प्रालिले पुलको सर्वेक्षण गरेको थियो ।

उक्त कम्पनीले सो पुलको लम्वाई ५ सय ४५ मिटर तोकेको भए पनि शुक्रबार गरेको सर्वेक्षणबाट पुलको लम्वाई करिव २२ मिटर बढेर ५ सय ६७ पुगेको छ । हावा छल्ने लठ्ठा राख्ने फाउन्डेनलाई व्यवस्थापन गर्दा पुलको लम्बाई बढेको इन्जिनियर मिश्रको भनाई छ ।
कालीगण्डकी नदीमाथि निर्माण हुने उक्त पुलको गहिराई एक सय ६० मिटर रहेको छ । उक्त पुललाई बागलुङ बजारको व्यवसायिक भविष्यसँग जोडेर हेर्ने गरिएको छ । प्राविधिक हिसावले पुल निर्माण गर्न सकिने देखिए पछि बागलुङ नगरपालिका र संघीय सरकारले संयुक्त रुपमा पुल निर्माणको काम आगडी बढाउने नगरप्रमुख जनकराज पौडेलले बताए ।

पुललाई सामान्य आहोर दोहोरको माध्यम मात्र नभएर पर्यटक मैत्री बनाउन आकर्षक भौतिक संरचना र विद्युतिकरणको व्यवस्थापन गर्ने मेयर पौडेलको भनाई छ । पुल निर्माणको लागि करिव १० देखि १२ करोड लागत अनुमान गरिएको छ । वि.स २०५९ सालमा ५ करोड ८४ लाख लागत अनुमान गरिएको थियो ।
