सुपथ मुल्य पसल बाग्लुङमा सेवाग्राहीको भिड ,छैँठौँ दिनमा १९ लाख बढीको कारोवार

बिक्रम सुनार
बाग्लुङ ,२८ भदौ  ।
दशै, तिहार र छठ पर्वलाई लक्षित गरि बागलुङमा सञ्चालन गरिएको सुपथ मुल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङ शाखाले भदौँ २० गतेदेखी सञ्चालन गरेको सुपथ मुल्य पसलमा बुधवार छैठौँ दिन ३ हजार ८ सय ७ जना सेवाग्राही लाभान्वित भएका छन् ।
बुधावार सम्म २२ हजार ८ सय किलो चिनी बाट १७ लाख ७० हजार ४ सय ८७ रुपैया र ११ हजार २ सय ४० किलो आयोनुन विक्री बाट २ लाख २ हजार ३ सय २० गरि जम्मा १९ लाख ७२ हजार ८ सय ७ रुपैँयाको कारोवार गरेको साल्ट ट्रेड्रिङ कर्पोरेशन बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले बताउनुभयो ।
सुपथ मुल्य पसलको सेवा लिन सेवाग्राहीको भिड लाग्न थाले पछि कार्यालयले गर्भवति, शारिरिक अपाङ्गता, फरक क्षमता भएकाहरुलाई सिधै सुपथ सेवा लिन सक्ने व्यवस्था गरेको कार्यालयले जनाएको छ ।
सुपथ मुल्य पसलको सेवा आगामी कात्तिक ८ गते सम्म जारी रहने छ । उक्त सेवा सार्वजनिक बिदाका दिन बाहेक बिहान १० बजेदेखी साँझ ५ बजे सम्म प्रदान गरिने कार्यालयले जनाएको छ ।
पसलबाट प्रतिव्यक्ति ३ कलो नुन १८ रुपैया र चिनी प्रतिव्यक्ति ६ किलो ७७ रुपैया ५० पैसा पर्ने र बाहिरी बजार मुल्य भन्दा ९६ रुपैया सस्तो पर्ने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
साल्ट ट्रेडिङले बागलुङ नगरपालिका २ श्रीनगर टोलमा रहेको आफ्नै कार्यालय परिसरबाट सुपथ मूल्यमा प्रदान गरिरहेको छ ।