बागलुङमा ८० करोड रुपैयाँँ रकम फ्रिज

७९ करोड ७१ लाख राजश्व संकलन

बागलुङ, ११ साउन
बागलुुङमा आर्थिक वर्ष ०७३/७४ मा करिव ८० करोड रुपैयाँ फ्रिज भएको छ । कुल विकास तथा पूर्वाधार बजेटतर्फ (पुँजीगत खर्च)अन्तर्गतको २३ प्रतिशत अर्थात् ४४ करोड ७१ लाख ३३ हजार रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख कोष नियन्त्रक रामजी शर्माका अनुसार पुँजीगत बजेटतर्फ २३ चालूतर्फ ७ प्रतिशत रकम खर्च हुन नसकेको हो । पूर्वाधार विकासतर्फ ४४ करोड ३१ लाख ३३ हजार र चालूतर्फ ३४ करोड ९९ लाख ३२ हजार रुपैयाँ सरकारी खातामा फिर्ता गएको छ ।
विगतमा निकासा भएको रकम खर्च गर्ने क्षमता नभए रकम फ्रिज हुने गरे पनि गत आर्थिक वर्ष ०७२÷०७३ देखि निकासा नगरी सिधै सरकारी खातामा फिर्ता हुने व्यवस्था छ । गत आवमा जिल्लाको विकासका लागि पुँजीगत तर्फ छुट्याइएको २ अर्ब ४० करोड ३९ लाख ३२ हजार रुपैयाँ मध्ये १ अर्ब ९५ करोड १५ लाख ७९ हजार २ सय ९५ रुपैयाँ खर्च भएको छ ।
यस्तै, चालूतर्फको ४ अर्ब ६७ करोड १४ लाख ९४ हजार रुपैयाँ मध्ये ४ अर्ब ३२ करोड १५ लाख २४ हजार रुपैयाँ खर्च भएको कोलेनिकाका प्रमुख शर्माको भनाई छ । आ.व ०७२÷०७३ मा भन्दा ०७३÷७४ मा पूर्वाधार बजेट धेरै भए पनि रकम खर्च हुने समयमा निर्वाचन हुनु, लेखाका कर्मचारीको सरुवा, समयमै ठेक्कापट्टाको काम गर्न नसक्नु, रकम खर्चको अख्तियारी ढिला गरी प्राप्त हुनु र विगतमा भन्दा विकास निर्माणको काममा गुणस्तरीय हुँदा बजेट खर्च हुन नसकेको उहाँको भनाइ छ ।
विगतमा भन्दा गत आर्थिक वर्षमा खर्च गर्ने क्षमतामा वृद्धि भएको शर्माले बताउनुभयो । समग्रमा ८९ प्रतिशत रकम खर्च भएको कार्यालयको तथ्याङ्गकमा उल्लेख गरिएको छ ।
बागलुङमा रहेका विभिन्न सरकारी कार्यालयमध्ये सबैभन्दा बढी सडक डिभिजन कार्यालयले ९२ प्रतिशत, भवन डिभिजन कार्यालयल, खानेपानी डिभिजन कार्यालयले ८० प्रतिशत रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै, कम खर्च गर्नेमा सिंचाई डिभिजनले ५८ प्रतिशत मात्रै खर्च गरेको छ । कोलेनिकाका अनुसार यो वर्ष ७९ करोड ७१ लाख ३ हजाररुपैयाँ राजस्व संकलन भएको छ ।