
बागलुङ, ३ साउन
बागलुङको काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि ३१ करोड ५३ लाख ५४ हजार बढीको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष अमर थापाले सरकारी अनुदान २९ करोड ४३ लाख १९ हजार, आन्तरिक कोष ५४ लाख र गैरसरकारी संस्थाको १५ करोड ६३ लाख ५ हजार रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तावित गाउँपालिकाको बजेटमा पूजीँगत खर्च तर्फ ११ करोड ७८ लाख ८० हजार, चालु तर्फ ४ करोड, ससर्त चालु खर्चमा १३ करोड ६४ लाख ३९ हजार प्रस्तुत गरिएको छ । गाउँपालिकाले वडा नम्बर १ (सिगाना–पाला) मा ८४ लाख, २ (भीमापोखरा) मा ९९ लाख, ३ (धम्जा) मा ९४ लाख, ४ (धम्जा) मा ९८ लाख, ५ (विहुको तल्लो भाग ) मा ९० लाख, ६ (विहुँको माथिल्लो भाग) मा ८४ लाख, ७ (रेश) मा एक करोड २६ लाख र ८ (लेखानी) मा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले प्रत्येक वडालाई सडक संजालसँग जोडने, प्रत्येक वस्तीमा ट्रयाक खोल्ने, सडकहरु बाह्रै महिना संचालनमा ल्याउन ग्राभेलिङ, ढलान, कालोपत्रे जस्ता कार्यक्रम अगाडी सारेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
गाउँपालिका भित्रका विद्यालयमा सूचना तथा संचार प्रणाली विकास गरी ‘समार्ट स्कुल’ खेलकुद विकासको लागि ‘हामी सबैका लागी खेलकुद’ अभियान, संचारको विकास अन्तर्गत विद्युतिय तथा छापा माध्यमका प्रशारण तथा प्रकाशनलाई प्राथामिकता दिँदै ल्यान्ड फोनको विस्तार र इन्टरनेटको पहुँच स्थापना गर्ने, अर्थ र उद्योगको विकासको लागि ‘हरेक चोक, एक घरेलू उद्योग’ अभियान सचालन गर्ने नीति अख्तियार गरिने अध्यक्ष थापाले बताउनुभयो ।
स्वास्थ्य नीति अन्तर्गत गाउँपालिका स्तरमा कम्तिमा १५ सैयाको अस्पताल निमार्ण गर्ने, सामाजिक सुरक्षा भत्ता वडा मै पुगी वितरणको व्यवस्था मिलाउने, कृषिको विकास अन्तर्गत ‘एक क्षत्र एक विशेष खती’ अभियान कार्यान्वय गर्ने उल्लेख गरिएको छ ।
‘भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन लगायतका क्षेत्रको विकासमा बढी योजनाहरु आएको र आगमी पाँच वर्षको लागि पाँच वर्षे रणनैतिक योजना निर्माण गरी सम्वृद्ध गाउँपालिका निर्माण जुट्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभएको छ ।
